एसीसी महिला एशिया कप क्रिकेटका लागि नेपाली टोली थाइल्याण्ड प्रस्थान, टेष्ट मान्यता देशलाई हराउनु टिमको लक्ष्य

एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टिम थाइल्याण्ड प्रस्थान गरेको छ । करीव दुई साताको बन्द प्रशिक्षण पछि नेपाली टिम आज प्रतियोगिताका लागि थाइल्याण्ड गएको हो ।

हङकङमा भएको आइसीसी महिला विश्वकप छनोटको एशिया रिजनमा दोस्रो हुदै आठ बर्षपछि एशिया कपमा स्थान बनाएको महिला टिमले छोटो समयको प्रशिक्षणमा पनि राम्रो तयारी गरेको प्रशिक्षक राजु बस्न्यातले बताए ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको टिममा अलराउन्डर निर्मला शाहिको अनुपस्थिती भने खड्कीने प्रशिक्षकका भनाई छ । तर उनले शोभा आले र संगिता लामा मध्य एकलाई उनको स्थानमा खेलाउने तयारी गरेका छन । १५ खेलाडी र तीन जना अफिसियललाई आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले विदाई गरेका हुन ।

चार वटा टेष्ट मान्यता राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालको लक्ष्य एउटा टेष्ट खेल्ने देशलाई हराउनु नेपालको ठुलो उपलब्धि हुने प्रशिक्षक राजु बस्न्यातले बताए । यस्तै कप्तान रुविना क्षेत्रीले नेपालको ब्याटिङ कमजोर भनिएपनि यसपटक केहि सुधार भएको र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताइन ।
नेपालले टेष्ट मान्यता राष्टमध्ये बंगलादेशसंग एक पटक खेलेको छ भने भारतसंग पहिलो पटक खेल्नेछ । यस्तै श्रीलंकासंग पनि नेपालले यसअघि खेलिसकेको छ । थाइल्याण्ड नेपालको चिरप्रतिद्धन्द्धी देश हो । तर हङकङमा पनि नेपाल थाइल्याण्डसंग दुइ खेल खेल्दा दुबैमा पराजित भएको थियो ।

नेपालले शनिबार पाकिस्तान विरुद्धको खेलबाट प्रतियोगितामा आप्mनो यात्रा सुरु गर्नेछ । त्यसपछि नेपालले सोमबार श्रीलंकासंग खेल्नेछ भने मंगलबार बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछन । डिसेम्बर चार तारिखसम्म चल्ने प्रतियोगिताको लिग चरणमा नेपालको अन्तिम प्रतिद्धन्द्धी भारत हुनेछ ।

Comments:

comments

About the author

News Staff