नेपालको असन्तुष्टिप्रति आईसीसीको सकारात्मक जवाफ, छिट्टै प्रतिनिधि पठाउने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सल्लाहकार समूहको कार्यविधिबारे असन्तुष्टि जनाउँदै नेपालले पठाएको पत्रको जवाफ दिएको छ । आइसीसीले छिट्टै नेपालमा प्रतिनिधि पठाउने बताएको छ ।

नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको आईसीसीले विधान संशोधनको मस्यौदा तयार पार्न सल्लाहकार समिति बनाएको छ । तर, समितिको नेतृत्व र कार्यविधिप्रति सल्लाहकार समितिका सदस्यहरु सन्तुष्ट छैनन् र समिति गठन भएको लामो समय हुँदा पनि बैठक बसेको छैन ।

नेपालको असन्तुष्टिबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्रालयले आईसीसीलाई पत्र लेखेको थियो । मन्त्रालयका सहसचिव एवं सल्लाहकार समितिका सदस्य चुडामणी पौडेलले भने, आईसीसीले सकारात्मक जवाफ दिएको छ र बसेरै छलफल गरौं भनेको छ । उनका अनुसार यसका लागि आईसीसीका प्रतिनिधि नेपाल आउनेछन् । तर, को र कहिले आउने भन्ने तय भएको छैन ।

आईसीसीले सल्लाहकार समूहको नेतृत्व गर्ने अमर शेखले गर्ने बताएको थियो । तर, नेपालले भने आफूले नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । र, निर्वाचित क्यान नबन्दासम्म नेपाली क्रिकेटको सबै गतिविधि सल्लाहकार समितिमार्फत नै गराउनु पर्ने नेपाली पक्षको प्रस्ताव छ ।
साथै सल्लाहकार समितिका सदस्यलाई कुनै पनि बेला हटाउन सक्ने कार्यविधिमा नेपालको आपत्ति छ ।

Comments:

comments

About the author

News Staff

Latest News