Nepal Mens

पुरुष क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको लगातार दोस्रो जीत

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागिए टिम सशस्त्र प्रहरी बलले लगातार दोस्रो जीत निकालेको छ । आज भएको खेलमा सशस्त्रले सुदुरपश्चिमलाई एक सय ४४ रनको भारी अन्तरले हरायो ।

मोरङको बैजनाथपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सशस्त्रले २० ओभरमा चार विकेट गुमाउदै दुई सय रन बनाएको थियो । उसका लागि कप्तान पासर खड्काले अविजीत एक सय पाच रन बनाए भने सुवास खकुरेलले अविजीत ६४ रन बनाए । जवाफमा सुदुरपश्चिम २० ओभरमा छ विकेट गुमाउदा ५६ रन मात्र बनाउन सक्यो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । सशस्त्रका लागि बसन्त रेग्मीले तीन विकेट लिए ।

यस्तै अर्को खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ६ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले छ विकेट गुमाउदै एक सय २७ रन बनाएको थियो । उसका लागि दिपेश खत्रीले ५३ तथा संकर रानाले ४८ रन बनाए । जवाफमा मध्यमाञ्चलले सात विकेट गुमाउदा एक सय २१ रनमा रोकियो । मध्यमाञ्चलका लागि जितेन्द्र ठकुरीले ४४ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए ।

Most Popular

To Top