Blind Cricket

अष्ट्रेलियासंग बदलाको तयारीमा नेपाल

दोस्रो दृष्टिबिहिन बिश्व कप क्रिकेटअन्तर्ग पहिलो खेलमा नेपालले भोली अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । नयादिल्लीको द्धार्का स्थित दिल्ली बिकास प्राधिकरण (डिडिए) को मैदानमा हुने खेल स्थानिय समयअनुसार बिहान नौं बनेपछि सुरु हुने छ । टीट्वेन्टी बिश्व कपमा नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो अवसर हो । यस अघि सन् २०१२ मा भारतले नै आयोजना गरेको पहिलो दृष्टिबिहिन टीट्वेन्टि बिश्व कपमा समेत नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो पटक आमुन्नेसामुन्ने हुन लागेको अष्ट्रेलियाविरुद्ध नेपालको इतिहास भने राम्रो छैन । पाँच बर्ष अघिको भेटमा नेपाल अष्ट्रेलियासँग सात विकेटले पराजित हुन पुगेको थियो । टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा नौं विकेट गुमाई एक सय ५७ रनको योगफल जोडेको थियो ।
प्रत्युत्तरमा अष्ट्रेलियाले १० ओभर भित्रै मात्र तीन विकेट गुमाएर जित हात पारेको थियो । त्यसपछि नेपालले अष्ट्रेलियासँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

अष्ट्रेलियाविरुद्ध सन् ०१२ मा खेलेका ६ खेलाडी अहिलेको टोलीमा रहेकाले पनि अष्ट्रेलियालाई पराजित गर्नेमा नेपाली टोली आश्वस्त देखिएको हो । सन् ०१२ मा अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गरेको मध्ये बिक्रम राना, दुर्गादत्त पौडेल, पदम बडैला, लोक बहादुर थापा, सुनिल सुबेदी क्षेत्री र जिवन गुरुङ अहिलेको नेपाली टोलीमा छन् । साथै नेपाली टोलीले यस पटक प्रशिक्षक राखेर प्रशिक्षण गरेकाले पनि उत्कृष्ट प्रदर्शन गर्नेमा अपेक्षा गरीएको हो । नेपालले यस अघि प्रतिस्पर्धा गरेको पहिलो टीट्वेन्टी बिश्व कप र सन् २०१६ मा भारतमै भएको एसिया कपमा प्रशिक्षक बिना आफैले अभ्यास गरेर खेलेको थियो ।

नेपाली टोलीका प्रशिक्षक रिजन प्रजु पनि नेपाली टोलीले अष्ट्रेलियालाई कडा टक्कर दिने बताउछन् । ‘सबै खेलाडी फिट छन् । सबै खेलाडी मानसिक रुपमा पनि दृढ देखिएका छन्’, प्रशिक्षक प्रजु भन्छन्, ‘अष्ट्रेलियाविरुद्ध हामी जितकै लागि खेल्ने छौं ।’

प्रशिक्षक प्रजु अष्टे«लियन टोलीको ब्याटिङ मध्यमखालको रहेको र आफुहरुले जितका लागि त्यो अवसर सदुपयोग गर्न सक्नु पर्ने बताउछन् । ‘अष्ट्रेलियन खेलाडी हामी भन्दा शारिरीक रुपमा अग्ला छन् । उनिहरुको बलिङ राम्रो भए पनि ब्याटिङ मध्यम छ’, प्रजु भन्छन्, ‘त्यसैले हामीले जित हात पार्नका लागि पहिले ब्याटिङ गर्दै सम्मानजनक योगफल बनाउन आवश्यक छ ।’ प्रशिक्षक प्रजुले अष्ट्रेलियाविरुद्ध एक सय ५० रन सम्मको योगफल ‘डिफेन्ड’ गर्न सकिने बताए ।

अष्ट्रेलियाविरुद्धको खेल अघि नेपाली टोलीले दुई दिन आराम गर्ने अवसर पाएको छ । शनिबार दिल्ली आईपुगेको नेपाली टोलीले सोमबार दिल्लिीको इन्डियन इन्स्टिच्युड अफ टेक्हनोलोजी (आईआईटी) को मैदानमा अभ्यास गरेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top