International

अन्तिम ४ बलमा ६ रन बनाउन नसक्दा भारत पराजित

इङ्ल्यान्डले भारतविरूद्धको तेस्रो तथा अन्तिम एकदिवसीय ५ रनले जितेको छ। निकै रोमाञ्चक यस खेलमा इङ्ल्यान्डले दिएको ३ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो।

भारतका युवा ब्याट्सम्यान केदार जाधवले क्रिस वोक्सको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै अन्तिम ४ बलमा जितका लागि ६ रनको लक्ष्य नजिक खेललाई ल्याएका थिए। तर, उनी वोक्सको तेस्रो र चौथो बलमा रन बनाउन असफल भए। पाँचौ बलमा उनले डिप प्वान्टमा बिलिङ्सलाई क्याच थमाएपछि खेल भारतको पोल्टाबाट खुस्किएको थियो।

अन्तिम बलमा भारतलाई जितका लागि एक बलमा ६ रनको आवश्यक थियो। तर, जस्पित बुमराहले वोक्सको बलमा एक रन पनि लिन नसकेपछि भारत ५ रनले खेल गुमाउन पुग्यो। भारतले ९ विकेटको क्षतिमा ३ सय १६ रन बनायो।

यसअघि भारतीय कप्तान विराट कोहलीले एकदिवसीयमा ३९ औं अर्धसतक पुरा गर्ने क्रममा ५५ रन बनाए। युवराज सिंह ४५ रन बनाएर आउट भए। महेन्द्रसिंह धोनी २५ रनमा पवेलियन फर्किए। भारतको योगफल १ सय ७३ हुँदा पाँचौ विकेटको रुपमा धोनी आउट भएका थिए। यसपछि भारतको हार मानिएको थियो।

तर, मध्यक्रममा केदार जाधवले ७५ बलमा १ छक्का र १२ चौकाको सहयोगमा ९० र हार्दिक पाण्ड्याले पहिलो एकदिवसीय अर्धसतकको रुपमा २ छक्का र ४ चौकाको सहयोगले ५६ रन बनाएपछि भारत खेलमा फर्किएको थियो। यी दुवैले छैटौं विकेटका लागि १ सय ४ रनको साझेदारी गरेका थिए।

यसअघि टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको भारतले राम्रो बलिङ गर्न सकेन्। इङ्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय २१ रन बनायो। इङ्ल्यान्डको जितमा जासन रोयले ६५, जोनी बेरिस्टोउले ५६ र बेन स्टोक्सले ३७ बलमा बिस्फोटक ५७ रन बनाएका थिए। भारतविरूद्ध ३ विकेट पनि लिएका स्टोक्स म्यान अफ दि म्याच घोषित भए।

अन्तिम एकदिवसीय हारे पनि भारतले अघिल्लो दुई खेल जितेर शृंखला २–१ ले कब्जा जमाएको छ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top