Dhangadhi Premier League

धनगढी प्रिमियर आउदो आइतबार देखि, सबै टिमको तयारी आफनै किसिमको

बन्दप्रशिक्षण सुरु गर्ने पहिलो टिम रुपेन्देही च्यालेन्जर्स

रुपेन्देही च्यालेन्जर्सले चैत १६ गते देखि डिपिएलका लागि विशेष क्याम्प थालेको थियो । टिमलाई थप अभ्यास खेलका लागि भारतको टिम ल्याउने तयारीमा टिम रहेको भएपनि एकिन भने हुन सकेको छैन । शक्ति गौचनको कप्तानीमा रहेको टिममा अधिकांस भैरहवाका खेलाडी रहेका छन । युवा र अनुभवी खेलाडीको समिश्रण रहेको टिमले अक्सनमा ७ लाख २० हजार रूपैयँ खर्चिएको थियो ।

जसमा सुवास खकुरेल, राजेश पुलामीमगर, विक्रम सोब टिमका तीन मुख्य खेलाडीहरूलाई भित्र्याएको थियो । तर ब्यक्तिगत कारणले सुवास सुरुवाती खेलमा खेल्न नसक्ने सम्भावना बढेको छ । पारीवारीक काम भएकाले सुरुवाती दुई खेल खेल्न नपाउने त्यसपछि टिमले बोलाएमा जाने सुवासले बताए । रूपन्देहीको ब्याटिङ अर्डर राम्रो छ भने बलिङमा शक्ति गौचनले आफनो अनुभवको फाइदा लिन सक्नेछन । राजेश पुलामीमगर, शंकर राना, पुष्प थापा, अन्तिम थापाजस्ता ब्याट्सम्यान रहेको रूपेन्देहीको पेश बलिङ विक्रम शोब लगायतले सम्हाल्नेछन ।

गोरखपुर गयो काठमाडौं गोल्डेन्स

वसन्त रेग्मीको नेतृत्वमा रहने काठमाडौं टिम ब्यालेन्स देखिन्छ। ब्याटिङ अर्डरमा नरेश बुढाऐर, मञ्जित श्रेष्ठ, सुवेन्दु पाण्डे, दिनेश आग्री, जितेन्द्रसिंह ठकुरी, रोहितकुमार पौडेल, सन्दीप जोराजस्ता होनहार प्रतिभा रहेको टिम सोमपाल कामी, नन्दन यादव, सन्तोष भट्ट लगायतले पेश बलिङ सम्हाल्ने छन्। कप्तान वसन्त रेग्मी र भुवन कार्कीसँग स्पीन अट्याकको लामो अनुभव छ ।

टिमले खेलाडी खरिदमा ७ लाख ९५ हजार रूपैयाँ खर्च गरेको थियो । टिमले सोमपाल कामीका लागि सबै भन्दा धेरै रकम खर्च गरेको थियो । त्यस्तै, नरेश बुढाऐरलाई ९५ हजार, भुवन कार्कीलाई ८० हजार, सन्तोष भट्ट र रोहितकुमार पौडेलका लागि समान ५०–५० हजार खर्च गरेको थियो । डिपिएलको तयारीका लागि टिम भैरहवा हुदै भारतको गोरखपुर गएको छ । त्यहा करीव चार दिन प्रशिक्षण गरेपछि साझै प्रतियोगिता स्थल पुग्ने छ । रमेश सिलवाल मालिक रहेको टिमले गोरखपुरमा गोरखपुरमा तीन वटा अभ्यास खेल खेल्नछ।


राष्ट्रिय कप्तान पारस खड्का पाएपछि हौसीएको चौराहा

टिम धनगढीको ब्याटिङ अर्डरको जिम्मेवारी कप्तान पारस खड्का, अनिल मण्डल, राजु रिजाल, प्रेम तामाङ, पृथु बाँस्कोटा, मेहम्मद आसिफ सेख तथा दीपेन्द्र थापाजस्ता खेलाडीहरूको काधमा छ भने स्पीनको जिम्मेवारी सुशान भारी, ललित राजवंशी, प्रकाशजंग कार्की तथा प्रेम तामाङले निभाउनेछन । त्यस्तै, पेश बलिङमा कप्तान पारस खड्का सँगै अमरसिंह रौटेला, सौरभ खनाल, रामनरेश गिरी लगायत रहनेछन्।

राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्काको नेतृत्वमा टिम चौराहा धनगढी डिपिएलमा उत्रँदैछ । टिम चौराहा धनगढीले खेलाडीको खरिदमा ८ लाख ३० हजार रूपैयाँ खर्चेको थियो । कप्तानलाई त्यसअघि नै १ लाख ५० हजार रूपैया तोकिएको थियो भने उनीबाहेक पृथु बास्कोटालाई ९० हजार, मोहम्मद आरिफ सेखलाई ८० हजार, अनिल मण्डललाई ७५ हजार राजु रिजाल र प्रेम तामाङलाई ७०–७० हजार तथा सुशान भारीलाई ५० हजारको बढाबढ गर्दै टिममा भित्र्याएको धनगढीका मुख्य खेलाडीहरु पनि यिनैलाई मानिएको छ।

टिम चौराहा धनगढी धनगढी क्रिकेट लिगको बिजेता टोली हो । टिम चौराहा धनगढीलाई होम ग्राउण्डको फाईदा हुनुका साथसाथै घरेलु दर्शकका अगाडि सुखद् नतिजा निकाल्नुपर्ने चुनौती पनि हो।


टेक्नोलोजीको साथमा कञ्चनपुर आइकोनिक

विनोद भण्डारीको कप्तानीमा रहेको कञ्चनपुर आइकोनिकले अक्सनमा खेलाडी खरिदमा सबैभन्दा बढी रकम खर्च गरेको थियो। उनीहरूले खर्च गरेको ८ लाख ५० हजार रूपैयाँबाट सर्वा्धिक मूल्य पाएका सागर पुनलाई, त्यस्तै अविनाश कर्ण, सुनील धमला, सिद्धान्त लोहनी, ललितसिंह भण्डारी र चन्द्र साउदजस्ता खेलाडी कञ्चनपुरका पावर हाउस हुन्।

कञ्चनपुरको ब्याटिङ अर्डरमा विनोद भण्डारी, सोनु तामाङ, सिद्धान्त लोहनी, सुनील धमला, हसिम अन्सारी, सागर पुन, भीम सार्कीजस्ता ब्याट्सम्यान छन् भने बलिङको जिम्मा चन्द्र साउद, ललितसिंह भण्डारी, अविनाश कर्ण, कमलसिंह ऐरी तथा कुशल भूर्तेल लगायतको जिम्मामा छ। सागर पुन अनि सुनील धमलाले स्पीनको जिम्मा सम्हाल्नेछन्।

कञ्चनपुर आइकोनिकका खेलाडीहरुले स्थानिय मैदानमा डिपिएलका लागि विशेष तयारी थालेका छन्। त्यस्तै, क्रिकेट र खेलाडीहरुको विकासका लागि कञ्चनपुर आईकोनिकले आफ्नो अफिसियल बेवसाइट र मोबाइल एप पनि निर्माण गरेको छ। जहाँ खेलाडी, कञ्चनपुर टिम, सञ्चालकहरु, स्पोन्सरहरु तथा स्कोरहरु हेर्न सकिने टिमले जनाएको छ।


क्याम्प र प्राक्टिस म्याचको तयारीमा अत्तरिया

अत्तरियाले युवा खेलाडीहरूलाई आफनो टिममा प्राथमिकता दिएको छ। ब्याटिङ अर्डरमा कप्तान ज्ञानेन्द मल्ल, प्रदीप ऐरी, रोशन नेपाली, दिलीप नाथ, सन्दीप सुनार, मेहबुब आलम, योगेन्द्रसिंह कार्कीजस्ता खेलाडीहरूलाई समेटेको अत्तरियाले पेश बलिङमा अविनाश बोहरा, करण केसी, सुरेन्द्र चन्दजस्ता खेलाडीहरूलाई समावेश गरेको छ।

डिपिएलको अक्सनमा अत्तरियाले खेलाडीहरू खरिदमा ७ लाख ९० हजार रूपैयाँ खर्च गरेको थियो। जसमा कप्तान ज्ञानेन्द्र मल्ललाई १ लाख ५० हजार रूपैयाँबाहेक अत्तरियाले मेहबुब आलम र करण केसीलाई सर्बा्धिक १र१ लाखमा टिममा भित्र्याएको हो। त्यस्तै, प्रदीप ऐरीलाई ९० हजार तथा सन्दीप सुनारलाई ८० हजार रूपैयाँ बढाबढ गरेको थियो।

एक हप्तादेखि तयारीमा विराटनगर

खेलाडी खरिदमा विराटनगरले सात लाख रूपैयाँ खर्चेको थियो। जसमा सर्वा्धिक रकम पाउने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, मोहम्मद आशिफ सेख र प्रनित थापामगरजस्ता युवा खेलाडीहरु टिममा छन्।

घरेलु क्रिकेटका सफल कप्तानमध्येका एक शरद भेषवाकरले टिमको ब्याटिङ अर्डर सम्हाल्नेछन्। त्यस्तै, दीपेन्द्रसिंह ऐरी, अमित श्रेष्ठ, आशिफ सेख लगायतका युवा खेलाडीले उनलाई साथ दिनेछन्। बलिङको जिम्मा जितेन्द्र मुखिया, सन्दीप लामिछाने, सुशील कँडेल तथा अलराउण्डर दीपेन्द्रसिंह ऐरीको हातमा हुनेछ।
डिपिएलका लागि विराटनगर किंग्सको तयारी विशेष छ। उसले एकहप्ता अगाडिदेखि नै काठमाडौंमा सबै खेलाडीहरु समेटेर प्रशिक्षण गराइरहेको छ।

Most Popular

To Top