Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, उपाधिका लागि चौराहा र विराटनगर भिडने

धनगढी प्रिमियर लिगको उपाधिका लागि धनगढी टिम चौराहा र विराटनगर किङस भिडने भएका छन । आज भएको क्वालिफायरमा रुपन्देही च्यालेञ्जसलाई ९२ रनले हराउदै घरेलु टिम चौराहा फाइनलमा पुग्न सफल भयो ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ७२ रन बनायो । आक्रामक सुरुवात गरेको चौराहाले २९ रन हुदा पहिलो विकेट गुमायो । उसका ओपनर अनिल मण्डल ११ रनमा आउट भए । त्यसपछि ४८ रन हुदा राजु रिजाल ब्यक्तिगत २५ रनमा आउट हुदा चौराहाको दोस्रो विकेट झरयो । पृथु सस्तैमा आउट भएपछि क्रिजमा आएका आरिफ शेख र कप्तान पारस खडकाको २९ रनको साझेदारीलाइ तोडिदा चौराहाले ९१ रनमा चौथो विकेट गुमायो ।

आरिफ सात रनमा आउट भएपनि पाचौ विकेटका लागि अमरसिंह रौतेला र पारस विच ३८ रनको साझेदारी भयो । तर रौतेला १६ रनमा आउट हुदा चौराहाले एक सय २९ रनमा पाचौ विकेट खेर फाल्यो । त्यसपछि पारस र सौरभ खनाल विच ४३ रनको साझेदारी हुदा चौराहाले बलियो लक्ष्य दिन सफल भयो । जारी प्रतियोगितामा दोस्रो ठुलो स्कोर तयार पार्ने क्रममा चौराहाका लागि कप्तान पारस खडकाले अविजीत ६७ रन बनाउदै कप्तानी पारी खेले । प्रतियोगितामा पहिलो अर्धसतक पुरा गरेका पारस सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका छन । रुपन्देहीका बलर विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको चौराहाले पछिल्लो १० ओभरमा एक सय १२ रन जोडयो । प्रतियोगितामा पारसले सात खेलमा एक सय ४६ रन बनाएका छन । शिर्ष स्थानमा रहेका अनिल मण्डलको एक सय ४९ रन छ ।

जवाफमा रुपन्देही १५ ओभर दुई बलमा ८० रनमा अलआउट भयो । दरिलो ब्याटिङ नभएको रुपन्देहीले ३० रन बनाउदा तीन विकेट गुमायो । शंकर राना नौ रनमा आउट हुदा हरीशंकर शाह मात्र चार रनमा पेभेलियन फर्किए । यस्तै विक्रम सोब पनि मात्र पाच रनमा आउट हुदा टिम पुर्ण रुपमा दबावमा परयो । त्यसपछि रुपन्देहीले खातामा थप ३१ रन थप्दा अरु तीन विकेट गुमायो ।

थापा १३ रनमा आउट भए भने राजेश पुलामी मगर १४ रनमा पेभेलियन फर्किए । यस्तै रुपन्देहीका लागि भरपर्दा ब्याटस्म्यान प्रकाश केसी पनि आठ रनमा आउट भए । १४ औ ओभरमा सौरभ खनालले लगातार दुई विकेट गुमाएपछि रुपन्देहीले ७३ रनमा आठविकेट गुमायो । लगत्तै अर्को विकेट झर्दा रुपन्देहीले ७८ रनमा नौ विकेट गुमायो । बलिङ तर्फ सौरभ खनाल र ललित राजबंसिले तीन तीन तथा आरिफ शेखले दुई विकेट लिए ।
फाइनल खेल शनिबार हुनेछ । विराटनगरले रुपन्देहीलाइ नै हराउदै फाइनलमा पुगिसकेको छ ।

Most Popular

To Top