National News

धरासायी बनेको पश्चिमाञ्चललाई सौरभ र कृष्णले उकासे, लक्ष्य २३६ रनको

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चलले विभागिए टिम त्रिभुवन आर्मीलाई दुई सय ३६ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले ४९ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउदै दुई सय ३५ रन बनायो । पश्चिमाञ्चललाई बलियो लक्ष्य दिलाउन सौरभ खनाल र कृष्ण कार्कीले उत्कृष्ट साझेदारी गरे । ६ रन हुदा दुई विकेट गुमाएको पश्चिमाञ्चलले ३६ रन बनाउदा तीन विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । पारीको सुरुवातमा आर्मीका बलर सामु निरीह देखिएको पश्चिमाञ्चलले ६६ रन हुदा सात विकेट गुमाइसकेको थियो ।

तर आठौ विकेटका लागि पुछारका खेलाडी सौरभ खनाल र कृष्ण कार्कीले एक सय ४५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए । घरेलु प्रतियोगितामा आठौ विकेटका लागि गरिएको यो ठुलो साझेदारी हो । सम्हालिएर खेलेका सौरभले ८२ रन बनाए । उनले ८६ बलमा दुई चौका र आठ छक्का प्रहार गरे । जारी प्रतियोगितामा सौरभको यो तेस्रो अर्धसतक हो । यस्तै कृष्ण कार्कीले पनि दुई चौका र ६ छक्काको मद्दतले ७५ रन बनाए ।

बाकि खेलाडीमा नुरद्धोज सेनले २६ र प्रकाश केसीले १३ रन बनाउदा बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ आर्मीका सोमपाल कामी, जितेन्द्र मुखिया, सागर पुन र साहव आलमले दुई दुई विकेट लिए । आजको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लवसंग खेल्नेछ ।

Most Popular

To Top