यू–१९ विश्वकपको एसियाली छनोट, नेपालले सिंगापुरसंग खेल्ने

जुलाई १५ देखि २६ सम्म हुने आईसीसी यू–१९ विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरसंग खेल्ने भएको छ । नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसियासम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छ ।

नेपालले सिंगापुरसँग जुलाई १७ मा पहिलो खेल खेल्नेछ । डबल राउन्ड रोबिनमा हुने खेलमा भोलिपल्ट नेपालको भेट मलेसियासँग हुनेछ । जुलाई १९ लाई विश्राम र वैकल्पिक दिन राखिएको छ । जुलाई २० मा अफगानिस्तानसँग खेल्ने नेपालले २१ मा फेरि सिंगापुरसँग खेल्नेछ ।

जुलाई २२ र २३ विश्राम र वैकल्पिक दिन हो । जुलाई २४ मा मलेसियासँग खेलेपछि नेपालले २५ मा अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ । लिगमा सर्वाधिक अंक ल्याउने विजेता बन्नेछ ।

मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा आएका हुन् । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो । डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान वान डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो ।

विहिबार देखि प्रशिक्षण सुरु हुने

प्रधानमन्त्री कप क्रिकेट बुधबार सकिँदै छ । त्यसको भोलिपल्टदेखि नेपाली यू–१९ को प्रशिक्षण क्याम्प सुरु हुनेछ । क्याम्प ५ साता चल्ने जनाइएको छ । शुक्रबारदेखि ३ टिमबीच अभ्यास खेल हुनेछ । एउटाले दुई टिमसँग खेल्ने छन् । त्यहींबाट नेपाली टोलीको छनोट गरिने छ ।

नेपालले डिसेम्बरमा श्रीलंकामा सम्पन्न एसीसी यू–१९ एसिया कपमा भाग लिएको थियो । त्यसका लागि नेपालमा विभिन्न क्षेत्रमा ट्रायल लिँदै पहिलो चरणमा ५२ खेलाडी छनोट गरेको थियो । ‘५२ मध्ये ३६ जनालाई यू–१९ विश्वकप छनोट क्याम्पमा बोलाइएको छ । घरेलु प्रतियोगिता खेलिरहेकाबाट पनि खेलाडी छान्ने छौं,’ प्रशिक्षक विनोद दासले भने, ‘एसिया कपका लागि श्रीलंका गएका १५ र वैकल्पिक ४ जना सिधै क्याम्पमा आउने छन् । सुवर्णकार उराँव भारतमा छन् । उनी आउने–नआउने निश्चित छैन । कमल ऐरी चोटग्रस्त छन् ।’

अन्तिम सूचीपछि थप प्रशिक्षणका लागि भारत जाने प्रयास रहने र वर्षाले प्रभावित हुने नदेखिएमा मलेसिया पनि जान सकिने दासले जनाए । उनका अनुसार त्यसका लागि आईसीसीको स्विकृति बाँकी छ ।

कान्तिपुर पत्रिकामा आधारीत भएर

Comments:

comments

Tags

Latest News