Nepal Women Cricket

जीवनभर क्रिकेट खेलियो अब के गर्ने- महिला खेलाडीको चिन्ता

नेपालमा महिला क्रिकेटको अवस्था दिनानुदिन दुराअवस्थामा पुगेको छ । यहि विषयमा लेखिएको लेख पढ्नुहोस

केहीअघि राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले आफ्नो हालखबर सुनाइन्–‘ठीकै छ’ । क्रिकेटको हालखबर सोध्दा भने उनको जवाफ थियो, ‘ठीकै होला नि । मनसुनका कारण त्यसै पनि अहिले क्रिकेटको अफ सिजन हो, अभ्यास पनि गरेको छैन ।’ आफ्नो भविष्यबारे चिन्ता लागेको सीताले बताइन् । ‘करियर’का बारेमा सोच्दै, विकल्प खोजिरहेको उनको भनाइ थियो । उनी त्यही सीता हुन् जो सन् २००७ मा नेपालमा महिला क्रिकेट टिम सुरु भएयता निरन्तर राष्ट्रिय टिमको मुख्य सदस्य छिन् । क्रिकेटमा एक दशक बिताएपछि उनी आफ्नो भविष्यको चिन्ता गर्दै छिन् ।

महिला क्रिकेट टिमकी कप्तान रुविना क्षत्रीले फेसबुकमा आफ्ना टिमका सदस्यहरूका नाममा एउटा स्टाटस पोस्ट गरिन्, ‘नेपालले नोभेम्बरमा थाइल्यान्डमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ । कसैको आस नगरौं जो जहाँ बस्छ, त्यहीं अभ्यास गरौं । हामीसँग क्षमता छ छनोट हुने सम्भावना पनि उत्तिकै छ ।’

***
यी दुई फरक प्रसंग पर्याप्त छ नेपालमा महिला क्रिकेटको वर्तमान अवस्था बुझ्न । १–२ वर्षको अन्तरालमा फाट्टफुट्ट अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि महिला क्रिकेटको घरेलु अवस्था भने दयनीय छ । अहिले त नेपाल क्रिकेट संघ नै अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बनमा छ । त्यसअघि पनि महिला क्रिकेटका लागि भनेर क्यानसँग कुनै प्रभावकारी योजना थिएन । पहिलो सहभागितामै उपविजेता बनेर फर्किएको नेपाललाई एसोसिएट राष्ट्रमा अब्बल टिम मानिन्थ्यो । यो अहिले बिस्तारै आरोलोलाग्दो क्रममा छ । एसीसी यू–१९ वुमन्स च्याम्पियनसिप नेपालले २००८ देखि २०१२ सम्म गरी लगातार चारपटक जित्यो । २०१२ पछि यो प्रतियोगिता भएको छैन । सिनियरमा नेपालले अहिलेसम्म कुनै उपलब्धि हासिल गर्न सकेको छैन । २००७ को पहिलो सहभागिता नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो, जसमा नेपाल फाइनल पुगेको थियो ।

सन् २००८ थाइलयान्ड चियाङमाई । जहाँ एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलोपटक एसीसी यू–१९ वुमन्स च्याम्पियनसिप आयोजना गरेको थियो । नेपाल रहेको समूह ‘बी’ मा मलेसिया, सिंगापुर, कुबेत, चीन र भुटान थिए । नेपालसामु सबै टिम फिक्का । नेपालको ‘बडी ल्याङ्वेज’ ले नै अरू टिमको होस् उड्थ्यो । थाइल्यान्डले विभिन्न खेलका खेलाडीलाई निकै मिहिनेत गरेर एक ठाउँमा जम्मा पारेर क्रिकेट टिम बनाएको थियो । चीनलाई त राम्रोसँग क्रिकेटको ‘टर्मिनोलोजी’ समेत आउँदैनथ्यो । भनौं नेपालले पर्फेक्ट टिमका रूपमा आफूलाई स्थापित गर्दा यी देशहरू भने भर्खरै क्रिकेट सिक्दै थिए । नेपाल अपराजित च्याम्पियन बन्यो ।

यो प्रतियोगितामा म आफैं खेलाडीका रूपमा नेपाली टिमको सदस्य थिए । अरू देशका पदाधिकारीले नेपाली टिमको खुलेर प्रशंसा गरेका थिए । यसले नेपालमा ठूलै खुसियाली ल्यायो । मैले नै क्रिकेटलाई निरन्तरता दिन सकिनँ, आफ्नो भविष्य हेर्दै पढाइ र मिडियातिर लागें । त्यसैले अहिले मेरै समकालीन साथीहरूले क्रिकेटमै लागिरहेको समयमा भविष्यको चिन्ता गर्नु कम्तीमा मलाई त आश्चर्य लागेन र लाग्दैन पनि ।

त्यो समयमा पुरुष क्रिकेटले नतिजा दिन सकिरहेको थिएन । महिला टिमले राम्रो गरिरहेको थियो । आजको अवस्था भने बिल्कुलै फरक छ । चीन र थाइल्यान्ड अहिले टेस्ट नखेल्ने राष्ट्रहरूमा पावरहाउस बनिसकेका छन् ।

हरेक प्रतियोगिताको उपाधि दोबेदार टिमका रूपमा यी दुई टिमले आफूलाई प्रस्तुत गर्छन् । अरू देश पनि क्रमिक रूपमा आफ्नो देशको महिला क्रिकेटको सुधारमा लागेका छन् । उनीहरूले महिला क्रिकेटलाई मलजल गरे, उचित स्याहार गरे । नेपालले भने महिला क्रिकेटको बिरुवा त रोप्यो तर हुर्काउन गर्नुपर्ने सबै काम बेवास्ता गर्योछ । महिला क्रिकेटको उद्गमस्थल नेपालगन्जमै यसको गतिविधि शून्य छ अरू ठाउको कुरा नगरौं ।

वर्षमा मुस्किलले महिलाका लागि एउटा राष्ट्रिय प्रतियोगिता हुन्छ । त्यो पनि राउन्ड रोविन लिग होइन । खेलाडीले राम्रोसँग क्षमता देखाउन नपाउँदै प्रतियोगिता सकिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आउनु तीन साताजस्तो अघि खेलाडीलाई बटुलबाटुल पारेर बन्द प्रशिक्षण राखिन्छ । त्यसमा पनि महिला क्रिकेट कहिले कसैको प्राथमिकतामा पर्दै पर्दैन । अनि कसरी उपाधिको अपेक्षा गर्ने ।
हुन त पुरुष क्रिकेट पनि व्यावसायिक छैन । उनीहरूका समस्या पनि उस्तै छन् । कम्तीमा पुरुष क्रिकेटका विषयमा छलफल हुन्छ, उनीहरूका आवाज सायद बुलन्द छन् र सुनिन्छन् । महिला क्रिकेट खेलाडी त आफ्ना कुरा खुलेर राख्न पनि सक्दैनन् । केही समयअघि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुपूर्व सञ्चारमाध्यमसमक्ष आफ्ना समस्या राख्दा क्रिकेटको जिम्मेवार व्यक्तिबाट नराम्रोसँग गाली खाएको तीतो अनुभव छ महिला खेलाडीसँग । होटलमै आएर ‘पारस खड्का बन्न नखोज, तिमीहरूले जित्ने पनि केही होइन’ भनेर हप्काएका शब्द अहिले पनि ती खेलाडीले भुल्न सकेका छैनन् ।

महिला खेलाडीका आफैंमा पनि केही कमजोरी छन् । बेलाबेला बन्द प्रशिक्षणका क्रममा खेलाडीबीच झगडा भएका समाचारहरू पनि बाहिर आउने गर्छन् । केही जुनियर खेलाडीले मापसे गरी फेसबुक लाइभ गरेको पनि देखियो । क्रिकेटमा भन्दा अनावश्यक कुराहरूमा बढी अल्झिएको महिला खेलाडीमाथि लाग्ने आरोप हुन् । तर यी सबको कारण गतिलो व्यवस्थापन नहुनु नै हो । खेलाडीलाई खेल्न मात्र आएर हुँदैन उत्तिकै अनुशासन पनि आवश्यक पर्छ । बेन्चमा खेलाडी नहुँदा अनुशासनभन्दा बाहिर गएका खेलाडीलाई विस्थापन गर्न सक्ने सामथ्र्य राख्दैन नेपालले । ‘म मात्र हुँ राष्ट्रिय टिमको खेलाडी, म भएन भने महिला क्रिकेट सकिन्छ’ भन्ने भ्रम केही खेलाडीमा देखिन्छ, जुन गलत हो । राष्ट्रिय टिममा खेलाडी आउने र जाने प्रक्रिया निरन्तर चलिरहन्छ । एउटा खेलाडी नहुँदैमा केही खेलको प्रदर्शनमा फरक पर्ला तर क्रिकेट नै सकिन्छ भन्ने होइन । केही खेलाडीको यस्तो व्यवहारले राम्रा र प्रतिभावान खेलाडीलाई भने प्रत्यक्ष असर पारिरहेको छ । यी सबैलाई सही ठाउँमा ल्याउन केवल बलियो व्यवस्थापनले मात्र सक्छ जुन नेपाली क्रिकेटमा खड्किरहेको छ ।

***
भर्खरै इङ्ल्यान्डमा महिला एकदिवसीय विश्वकप सम्पन्न भयो । फाइनलमा भारतलाई पराजित गर्दै इङ्ल्यान्डले उपाधि जित्यो । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रसारण भएको थियो । यसले विश्वकपमा महिला क्रिकेटको क्रेज बढिरहेको प्रस्ट पार्छ । नेपाली महिला क्रिकेटमा पनि पर्याप्त लगानी गर्ने हो भने पुरुषले जस्तै विश्वकप खेल्न सक्छन् । १० वर्षअघिको स्थिति हेर्ने हो भने पनि थाइल्यान्ड र चीनभन्दा नेपाल धेरै पछाडि परिसकेको छ । अर्को अहिलेको पुस्तालाई विस्थापित गर्ने खेलाडी पनि देखिँदैनन् । अब नेपालले सुरुआतदेखि नै महिला क्रिकेटलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।

खेलेर महिला क्रिकेट खेलाडीले अहिलेसम्म केही कमाएका छैनन् । सशस्त्र प्रहरी बलले महिला टिम बनाएकाले केही खेलाडीले त्यहाँ रोजगार पाएका छन् । सीता यही विभागीय टोलीबाट खेल्छिन् । बाहिर बसेर खेलिरहेका खेलाडीका हकमा भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा पाउने भत्ताबाहेक केही छैन । जीवनको उत्कर्ष समय ब्याट र बलमा बिताएका खेलाडीको भविष्यको चिन्ता कसले गर्ने ? हाल राष्ट्रिय टिममा रहेका खेलाडीलाई हरेकपटक भेट्दा उनीहरूको एउटै गुनासो हुन्छ, अब के गर्ने ? उनीहरू भन्छन्, ‘क्रिकेट नशाजस्तै भइसक्यो, छोड्न सकिन्न तर भविष्य सोच्यो भने कहाली लाग्छ ।’ धेरैका लागि जीवन नै क्रिकेट हो । क्रिकेटबाट बाहिर उनीहरू सोच्न सक्दैनन् । प्रतियोगिता नजिकै आएको तर्फ मोडिँदै उनीहरू भन्छन्, ‘पहिला नोभेम्बरमा ट्वान्टी–२० को विश्वकप छनोट खेलौं, त्यसपछि फेरि आफ्नो भविष्यको बारेमा सोचौंला ।’
कान्तिपुरमा सविना कार्कीले लेखेको लेख

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top