International News

धोनीलाइ पध्म भुषण अवार्डका लागि सिफारिस

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई देशकै तेस्रो ठूलो नागरिक पुरस्कार पध्म भुषणका लागि सिफारिस गरेको छ ।

बीसीसीआईका एक वरिष्ठ अधिकारीले पुष्टि गरेका छन् कि क्रिकेट खेलमार्फत गरेको योगदानका लागि धोनीलाई यस वर्षको पध्म भुषण अवार्डका लागि सिफारिस गरिएको छ । भारतका अहिलेसम्मका सफल कप्तान धोनीलाई यस अवार्डमा सिफारिस गर्न बीसीसीआईमा दुई मत देखिएन । ‘धोनीलाई हामीले सर्बसम्मत रुपमा पध्म भुषणका लागि सिफारिस गरेका छौं । समकालीन क्रिकेटमा उनी एक ठूलो नाम हुन् र बीसीसीआईको उपयुक्त रोजाई पनि हुन् ।’ बीसीसीआईका कार्यबाहक अध्यक्ष सिके खन्नालाई उदृत गरी टाइम्स अफ इण्डियाले लेखेको छ ।

धोनी अहिलेसम्म विवादमुक्त छन् र उनी भारतलाई एकदिवशीय र ट्वान्टी ट्वान्टी दुवै विश्वकप जिताउने एकमात्र भारतीय कप्तान हुन् । बीसीसीआईले यस वर्ष पध्म पुरस्कारका लागि अन्य कुनै नाम पठाएको छैन । ३६ वर्षीय क्रिकेटर धोनीले ३०२ एकदिवशीय खेलमा ९ हजार ७३७ रन बनाएका छन् भने ९० टेष्टमा ४८७६ रन बनाएका छन् । उनले ७८ टि-ट्वान्टीमा १२१२ रन बनाएका छन् । भारतका लागि उनले १६ शतक-१० एकदिवशीय र ६ टेष्ट) प्रहार गरेका छन् । त्यस्तै १०० अर्धशतक प्रहार गरेका छन् ।

धोनीले प्रतिष्ठित अर्जुन, राजीव गान्धी खेल रत्न र पध्म श्री अवार्ड यसअघि नै पाइसकेका छन् । यदी धोनीले पध्म भुषण पाए भने यस पुरस्कार पाउने उनी एघारौं भारतीय क्रिकेटर बन्नेछन् । पध्म भुषण पाउने अन्य भारतीय क्रिकेटरहरुमा सचिन तेन्दुलकर, कपिल देव, सुनील गावस्कर, राहुल द्रविड, चन्दू बोर्डे, प्रो डीबी देवधर, कर्नेल सिके नायडू र लाला अमरनाथ छन् ।

Latest News

To Top