National News

राष्ट्रिय टोलीको पर्खाइमा दुइ युवा खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्ल्यूसीएलसी) अन्तर्गत नेपालले अर्को महिना हङकङविरुद्ध उसकै मैदानमा खेल्दै छ । सो खेलका लागि नेपालले हालै राष्ट्रिय टोलीको घोषणा गर्दा दुई नयाँ अनुहारले पनि अवसर पाए, ललित भण्डारी र सुशील कँडेल । यू-१९ राष्ट्रिय टोलीबाट यसअघि नै नेपालको प्रतिनिधित्व गरिसकेका ललित र सुशील सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक परेका हुन् ।

प्रतियोगिताका लागि अन्तिम १४ खेलाडीको नाम सोमबारमात्र सार्वजनिक गरिए पनि क्याम्पभित्र भने त्यसको ६ दिनअघि नै जानकारी गराइएको थियो । प्रशिक्षक जगत टमाटाले खेलाडीलाई अभ्यास खेलका लागि भारत जानुअघि त्रिवि क्रिकेट मैदानको अन्तिम अभ्यास खेलमा अघिल्लो मंगलबार नै हङकङ जाने अन्तिम १४ खेलाडीको नाम सुनाएका थिए । प्रशिक्षक टमाटाले हङकङविरुद्धको प्रतियोगिताका लागि आफ्नो नाम पनि सुनाउँदा यी दुवै बलरले अन्नपूर्ण पोस्ट्सँग भनेका थिए, ‘आधा सपना पूरा भयो ।’ आधा सपना सिनियर राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै देशलाई जित दिलाएर पूरा गर्ने योजना बनाएका यी दुई युवाबलर ललित र सुशीलले आफ्नो क्रिकेट करिअरबारे पनि अन्नपूर्ण पोस्ट्मा आएको लेख

ललित भण्डारी (२१ वर्ष)
बायाँहाते मिडियम पेसर

सन् २०१२, नेपालबाहिर भारतमा हुर्किएका ललित एसएलसी परीक्षा दिएपछिको फुर्सद समय बिताउन आफ्नो घर महेन्द्रनगर झलारी आएका थिए । उनले त्यसबेलासम्म क्रिकेट हेरेको त थिए, खेलेका थिएनन् । महेन्द्रनगरमा साथीहरूले क्रिकेट खेलेको देखेपछि उनले पनि रमाइलोका लागि ब्याट र बल उठाए । ब्याटिङमा जमेनन् तर बलिङमा भने दुई÷चार दिनमै निकै राम्रो गर्न थाले । लाइन र लेन्थ राम्रोसँग बुझ्न थाले । उनी बायाँहातले बलिङ गर्थे । नेपाली क्रिकेटमा तुलनात्मक रूपमा मध्यमगतिका बलर कमै पाइन्छन्, त्यसमाथि बायाँहाते त अझ कम । त्यसैले सिनियर खेलाडीहरूले पनि निरन्तर मेहनत गर्न उनलाई हौंस्याए ।

एसएलसी दिएपछिको तीन महिनाको छुट्टी मनाउन घर फर्किएका उनी क्रिकेटर बनेर फर्किए । एसएलसीको नतिजामा सफल त भए तर, उनी पढाइभन्दा पनि क्रिकेटमै मेहनत गर्ने सोचसहित फेरी नेपाल फर्किए । सन् २०१२ तिर नेपालमा क्रिकेट क्रेज निकै बढ्दो थियो । नेपाली क्रिकेटको ‘क्रेजी’ मध्ये उनी पनि एक थिए । ‘एसएलसी दिएपछि तीन महिनाको छुट्टी मनाउन झलारी आउँदा साथीहरूसँग पहिलो पटक क्रिकेट खेलेको थिएँ । त्यसपछि त क्रिकेटको भूत यस्तो चढ्यो कि मैले क्रिकेटलाई नै निरन्तरता दिने निर्णय गरेँ’, उनी भन्छन्, ‘बायाँहाते मध्यमगतिका बलर भएकाले अन्य दाइहरूले पनि मेहनत गर्न हौंस्याउनु भयो । मैले पनि मेहनत गर्दै गएँ ।’उनले त्यही वर्षबाट यू-१९ र सिनियर टोलीबाट क्षेत्र नम्बर ९ को प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न थाले । ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन पनि गर्दै गए । उनी झन्डै पछिल्लो डेढ वर्षयता भने विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आइरहेका छन् । पुलिस क्लबको मध्यमगतिको बलिङ उनकै काँधमा छ ।

उनले पुलिस क्लबबाट रुस्लान कपको दुवै संस्करण, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता, धनगढी प्रिमियर लिग, प्रधानमन्त्री कपलगायत प्रतियोगिता खेलेका छन् । उनले यी सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विजयीमात्रै बनाएनन्, त्यस क्रममा गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय प्रतियोगितामा त उनी सर्वाधिक विकेट लिने खेलाडी नै बने । त्यसपछि भएको प्रधानमन्त्री कपको प्रदर्शनले उनी राष्ट्रिय टोलीको क्याम्पमा पर्न सफल भए । क्याम्पमा प्रदर्शनमा अझ निखार ल्याएपछि कप्तान पारस खड्का र प्रशिक्षक टमाटाको नजरमा उनी अन्तिम १४ भित्र पर्नैपर्ने खेलाडीमा दरिए । ‘क्रिकेट खेल्न सुरु गरेपछि जसको पनि सपना राष्ट्रिय टोलीबाट खेल्ने नै हुन्छ । मेरो पनि त्यही सपना थियो’, ललित भन्छन्, ‘आधा सपना पूरा भएको छ । अब मैदानमा मेहनत गरेर देशलाई विजयी गराएपछि बाँकी आधा सपना पनि पूरा गर्नेछु ।’

टोलीमा उनीसँगै अन्य दुई मध्यमगतिका बलर पनि छन्, सोमपाल कामी र करण केसी । सोमपाल र करण दुवै दायाँहाते बलर हुन् । भेट्रान अलराउन्डर मेहबुब आलम अन्तिम १४ भित्र नरहेकाले ललित टोलीमा एक्लो बायाँहाते मध्यमगतिका बलर हुन् । त्यसैले हङकङविरुद्ध उनले ‘डेब्यु’ गर्ने सम्भावना पनि रहेको छ । त्यो अवसर पाए उनले बाँकी सपना पनि पूरा गर्ने योजना बनाएका छन् । ‘सिचुएसन हेरेर टोलीमा पर्ने नपर्ने हुन्छ । अन्तिम ११ भित्र परेको अवस्थामा टोलीलाई कसरी जिताउने भन्ने उद्देश्य हुन्छ’, उनी भन्छन्, ‘त्यो अवसर पाएँ भने जिम्मेवारी पूरा गर्न शतप्रतिशत क्षमताले खेल्नेछु ।’

ललित आफ्नै मेहनतले बनेका क्रिकेटर हुन् । वसिम अकरम, वकार युनिस, जहिर खानजस्ता बायाँहाते बलरको प्रदर्शन हेरेर क्रिकेट सिकेका उनले कुनै ट्रेनिङ सेन्टर धाएनन् । ‘महेन्द्रनगरको खुला मञ्चमा सिमेन्टको पिच थियो, हामी त्यही नेट लगाएर अभ्यास गथ्र्याैं । त्यसबाहेक विभिन्न प्रतियोगिताका क्रममा प्रशिक्षकहरूले पनि सिकाउनु भयो । अहिले पनि सिनियर दाइहरूले सिकाइरहनु भएको छ’, ललित सुनाउँछन्, ‘मैले अन्य राम्रा विदेशी बलरहरूको बलिङ हेरेर पनि धेरै सिकेको छु ।’
उचाइमा समेत औसत नेपाली खेलाडीभन्दा अग्ला ललितलाई नेपाली क्रिकेटमा बायाँहाते बलरको नयाँ आयामको रूपमा लिइएको छ । उनी आफ्नो उचाइको समेत प्रयोग गर्दै बललाई स्विङ गराउन सक्ने क्षमता राख्छन् । यू-१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु क्रिकेटमा सशक्त प्रदर्शन गरिसकेका ललितले अवसर पाए भने सिनियर टोलीबाट समेत त्यस्तै प्रदर्शनलाई निरन्तरता दिन सक्ने प्रशस्त सम्भावना छ ।

उमेर समुहमा खारिएका स्पिनर
सुशील कँडेल (२० वर्ष )
बायाँहाते स्पिनर

नेपाली क्रिकेट स्पिन बलिङमा उर्वर मानिन्छ । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सफलतामा स्पिनरको मुख्य भूमिका रहँदै आएको छ, विशेषगरी बायाँहाते स्पिनरको । बायाँहाते स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी झन्डै पछिल्लो एक दशकयता नेपाली टोलीको सफलतामा मुख्य हतियारका रूपमा रहँदै आएका छन् । हङकङविरुद्धको खेलका लागि स्वास्थ्य अवस्थाका कारण शक्ति टोलीमा अनुपस्थित हुँदा नेपाली टोलीले अर्को बायाँहाते स्पिनर सुशीललाई पाएको छ, जसबाट त्यस्तै प्रदर्शनको अपेक्षासमेत गरिएको छ ।
सन् २०१५ को सेप्टेम्बरमा मलेसियामा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु-१९ प्रिमियर क्रिकेटमा साउदी अमेरिबियाविरुद्ध लगातार नौ ओभर मेडन फ्याकेका सुशील निकै खारिएका बलर मानिन्छन् । यू-१९ मा एसीसीको दुई र विश्व कपसहित आईसीसीको दुई प्रतियोगिता खेलेका सुशील तेस्रो पटकको प्रयासमा सिनियर टोलीमा पर्न सफल भएका हुन् । नवलपरासी गैंडाकोटका सुशील यसअघि पनि दुईपटक राष्ट्रिय टोलीको क्याम्पमा परेका थिए । डब्ल्यूसिएलसीअन्तर्गत नामिबिया र केन्याविरुद्धको खेलका लागि राखिएको बन्द प्रशिक्षणमा उनी पनि थिए । यद्यपि त्यसबेला अन्तिम १४ मा भने उनको नाम अटाएन ।

त्यसैले यसपटक उनको नाम अन्तिम १४ मा समेटिँदा उनी कम्ती खुसी छैनन् । खुसीसँगै उनले आफ्नो चुनौती पनि राम्ररी बुझेका छन् । ‘क्रिकेट बल समात्न सुरु गरेदेखिकै इच्छा हो, राष्ट्रिय टोलीबाट खेल्ने । पहिलो पटक राष्ट्रिय टोलीको अन्तिम १४ मा परेको छु, निकै खुसी छु’, उनी भन्छन्, ‘तर यससँगै चुनौती पनि थपिएको छ । अब टोलीका लागि राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । राष्ट्रिय टोलीमा पछिल्लो समय निकै प्रतिस्पर्धा भएको छ । राम्रो प्रदर्शन गर्न सकिएन भने खुसी धेरै टिक्दैन ।’
सुशीलको क्रिकेटसँग जोडीएका कथाहरू पनि निकै रोचक छन् । उनी सुमा प्रारम्भिक ब्याट्सम्यान थिए । अनि मिडियम पेस बलिङ गर्थे । स्पिन बलिङको बारेमा उनले सोचेका पनि थिएनन् । यू-१९ राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी हुँदै थियो । क्षेत्र नम्बर ८ पोखराबाट खेल्न लागेका उनी अभ्यासमा थिए । टोलीमा सबै खेलाडी थिए, तर स्पिनर थिएनन् । टोलीका उपकप्तान अमृत श्रेष्ठले सुशीललाई स्पिन बलिङ गर्न भने, त्यतिबेलासम्म सुशीलले एक बल पनि स्पिन गरेका थिएनन्।
उनले नेटमा एक÷दुई ओभर स्पिन बल फ्याँके । त्यसपछिको पहिलो खेलमा वीरगन्जका हासिम अन्सारी एकदमै राम्रो ब्याटिङ गरिरहेका थिए । सुशीलको हातमा बल आइपुग्यो । उनको बलिङमा हासिम आउट भए । स्पिन बलिङ गरेको पहिलो प्रतियोगितामै उनले हासिमसहित पाँच विकेट लिए । अर्काे खेलमा तीन विकेट लिए ।

सो प्रतियोगितापछि जब उनी फर्केर चितवन पुगे, उनको प्रशिक्षक तथा नेपाली टोलीका पूर्वकप्तान राजु खड्काले उनलाई स्पिन बलिङ नै गर्न सुझाव दिए । त्यसपछि उनले ब्याटिङ र मध्यमगतिको बलिङ दुवै छाडिदिए । स्पिन बलिङको कलामा मात्र ध्यान दिन सुरु गरे । आज त्यही कलाले उनलाई राष्ट्रिय टोलीबाट खेल्ने सपना नजिक पुर्‍याएको छ ।

‘मेरो क्रिकेट करीअरमा राजु (खड्का) सरको भूमिका महत्वपूर्ण छ । म आज उहाँकै कारण राष्ट्रिय टोलीमा पर्न सफल भएको छु’, सुशील आफ्ना प्रशिक्षकलाई सम्झन्छन्, ‘उहाँको प्रशिक्षण नपाएको भए म यो स्थानमा आइपुग्दिन थिए होला ।’ सुशीलले राजुको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । उनी क्रिकेट सिक्नकै लागि नवलपरासी गैंडाकोटबाट दैनिक १३ किलोमिटर गाडीमा धाएर चितवन आइपुग्थे । त्यतिबेलैबाट मेहनत गर्न सिकेका उनी सफलता नजिक पुग्दै छन् । उनले मेहनतका बाबजुद सफलताबाट बञ्चित हुनु परेको अनुभव पनि बुटलेका छन् । दुबईमा भएको सन् २०१४ को एसिया कपका लागि उनी छनोट भएका थिए । प्रतियोगिताका लागि टोली दुबई प्रस्थान गर्न एक साता पनि बाँकी थिएन । होटेलमा बसिरहेका सुशीलको घाटीमा चकलेट अड्कियो । होटेलका कर्मचारीले चकलेट निकाल्न उनको घाटीमा पछाडिबाट हल्का धक्का दिएका थिए । चकलेट त निस्कियो तर, घाटीको हड्डी पनि ‘फ्याक्चर’ भयो । उनी अस्पताल भर्ना भए ।

चोट ठीक भएपछि उनी फेरि क्रिकेटमै मेहनत गर्न थाले । पछिल्लो समय विभागीय टोली नेपाल पुलिसबाट खेल्दै आइरहेका उनी पछिल्लो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हँदै अन्तिम १४ मा परेका छन् । अन्तिम १४ बाट अन्तिम ११ पर्दा सायद उनले नेपाली टोलीलाई आफ्नो प्रदर्शनमार्फत जित पनि दिलाउन सक्नेछन् ।

अन्नपुर्ण पोस्टमा आधारीत

Most Popular

To Top