Everest Premier League

इपिएलका लागि खेलाडी दर्ता आजबाट सुरु

नेपाली क्रिकेटमा सवाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको अक्सनका लागि खेलाडी दर्ता आजबाट भएको छ ।

तिहारपछि हुने अक्सनका लागि खेलाडीहरुले १ हजार रुपैया तिरेर अनलाइनबाट आफ्नो नाम दर्ता गराउनु पर्ने हुन्छ । नाम दर्ता गराउन अघि खेलाडीहरुले आईएमई काउन्टरबाट दस्तुर रकम भरपाई गर्नु पर्ने हुन्छ । नाम दर्ता आगामी अक्टोबर ९ सम्म गर्न सकिने छ भने अक्सन २३ अक्टोबरमा हुने छ ।

नाम दर्ता गराएका मध्येबाट इपिएल छनोट समितिले अक्सनका लागि ७० खेलाडी चयन गर्ने छ । अक्सनका लागि नाम दर्ता गराएका खेलाडीहरुलाई अक्सनका लागि ए, बि र सी समूहमा बिभाजन गरिने छ । यसैबीच इपिएल र आईएमईबीच सहप्रयोजक सम्झौता भएको छ । इपिएलका एमडी आमिर अख्तर र आईएमईका बिजिनेस हेड, ड्यानियल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतापछि इपिएल क्रिकेटका सम्पूर्ण खेलको टिकेट आईएमईबाट किन्नुपर्ने हुन्छ ।

आगामी डिसेम्बरमा आयोजना हुने इपिएल क्रिकेटको टिम मालिक र मार्की खेलाडी भने यसअघि नै सार्वजनिक भैसकेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपिएल क्रिकेटमा काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखरा गरि ६ सहरको सहभागिता रहेको छ । ६ टोलीका मार्की खेलाडीमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकार, तिब्र गतिका बलर सोमपाल कामी र बायाा हाते स्पिनर शक्ति गौचन र यू १९ क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

मार्की खेलाडीको न्युनतम पारिश्रमिक २ लाख रहेको छ । तर, मार्की खेलाडी नै टिमको कप्तान हुनु पर्छ भन्ने नियम भने नरहेको आयोजकले जनाएको छ ।
इपिएल क्रिकेटमा रोहित गुप्ताको टिम काठमाडौं किंग्स इलाभेनको मार्की खेलाडी सोमपाल कामी, किशोर महर्जन मालिक रहेको ललितपुर प्याट्रओट्सको मार्की खेलाडी ज्ञानेन्द्र मल्ल र बिशाल अग्रवाल मालिक रहेको विराटनगर वारिवर्सको मार्की खेलाडी पारस खड्का रहेका छन् । यस्तै, आदित्य संघाई मालिक रहेको भैरहवा लिजेण्डको मार्की खेलाडी शरद भेषवाकर शाहील अग्रवाल मालिक रहेको पोखरा राइनोजका मार्की खेलाडी शक्ति गौचन र किशोर भट्टराई मालिक रहेको चितवन टाइगर्सको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् । सहभागी प्रत्येक टिमले लिगमा एक अर्कासाग एक एक खेल खेल्नेछन् । र, शिर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासाग एलिमिनेटर खेल खेल्नेछ ।

Latest News

To Top