National News

चोटका कारण दिलिपनाथ क्याम्पबाट बाहिर

कम्मरको समस्याका कारण विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले राष्ट्रीय क्रिकेट टिमको बन्दसत्रबाट आफ्नो नाम फिर्ता लिएका छन ।

ढाडको समस्या भएपछि दिलिपले दुई महिना आराम गर्ने निर्णय लिएपछि क्याम्पबाट बाहिरीन लागेका हुन । उनले गत मार्च महिनामा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स एसिया कपमा पहिलो पटक नेपाली रास्ट्रिय टिमको लागि खेलेका थिए ।

बायाँ हाते ब्याट्सम्यान दिलिपले बंगलादेशसंगको आफ्नो डेब्यु खेलमा ४१ रनको इनिंग खेल्दै प्रभावित बनाएका थिए । बंगलादेशमा उनले विकेटकिपरको भूमिका समेत निभाएका थिए ।

दिलिपले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब तथा धनगढी प्रिमियर लिगमा उनले सीवाईसी अत्तरियाको प्रतिनिधित्व गरिसकेका छन् । उमेर समुह रास्ट्रिय क्रिकेट टिममा नपरिकन रास्ट्रिय टिममा स्थान बनाएका दिलिपले यो पटक बन्दसत्रबाट बाहिरिनु परे पनि अर्को पटक कमब्याक गर्ने आत्मविश्वास ब्यक्त गरेका छन् ।

अक्टोबर १३ र १५ मा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको हंगकंगसंगको खेलको लागि पहिलो चरणमा २५ सदस्यीय खेलाडी छनौट गरेर बन्दसत्रमा राखिएको छ । रास्ट्रिय क्रिकेट टिम यतिबेला नियमित अभ्यास गरिरहेको छ । यसै साता हंगकंगसंग खेलको लागि अन्तिम १८ जना खेलाडीको नाम घोषणा हुने बताइएको छ ।

स्रोत: विकेट नेपाल

Most Popular

To Top