Nepal Mens

अन्तिम अभ्यास खेलमा नेपाल पराजित

विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको खेल अघि भारत भ्रमणमा रहेको नेपाली टिमको स्वदेश फिर्ता भने खल्लो भएको छ । भारतको चेन्नाईमा भएको अन्तिम अभ्यास खेलमा नेपाल ५ रनले पराजित हुन पुग्यो ।

सेन्टर अफ स्पोर्ट्स साइन्सले टस जितेर पहिले ब्याटिंग गर्दै नेपाललाई २१६ रनको लक्ष्य दिएको थियो । उसका लागि विलिंकस् भिक्टरले सर्बाधिक ७४ रनको योगदान दिएका थिए । उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै ओपनर अनन्थले ४५ रन बनाए जसमा ४ चौका र १ छक्का सामेल थियो । नेपालको लागि देब्रे हाते स्पिनर सुसन भारिले सर्बाधिक ३ तथा करन केसी र सन्दिप लामिछानेले २/२ विकेट हात पारेका थिए । भारिले ९ ओभरमा १ मेडन ओभर सहित मात्र २६ रन खर्चेका थिए । सेन्टर अफ स्पोर्ट्स साइन्सले २४ अतिरिक्त रन पाएको थियो ।

जवाफमा नेपाली टिम ४०.३ ओभरमा २०५ रनमा अल आउट हुन पुगेको थियो । नेपालको लागि सागर पुनले ६९ तथा कप्तान पारस खड्काले ४९ रन बनाएका थिए । यस्तै दिपेन्द्र ऐरि ४५ रन बनाएर पेभेलियन फर्किए । आरिफ शेख ७, बिनोद भण्डारी १५, सोमपाल कामी ५ , बनाएर आउट भए । नेपाललाई हराउन अरुण बालाजीले ५ तथा विलिंक्स भिक्टरले ३ विकेट हात पारे । अघिल्लो २ वटा अभ्यास खेलमा शतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल र शरद भेसावकरलाइ अन्तिम खेलमा आराम दिइएको थियो । टिम सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Most Popular

To Top