ICC World Cricket League Championship

मैदानमा पानी जमेका कारण खेल सुरु हुन कठिनाइ

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल मैदानमा पानी जमेका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन ।

नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल अझै सुरु हुन नसकेको हो ।

आइतबार हङकङमा लेभल एटको तुफानसँगै भएको भारी वर्षाका कारण मैदानमा निक्कै पानी जमेको र लगातार चार घण्टासम्म घाम लागेमा मैदान खेल्न योग्य हुने अम्पायरले जनाएका छन् ।

हङकङको मौसम पूर्वानुमान केन्द्रले आज त्यहाँ पानी पर्ने प्रक्षेपण गरे पनि अहिले घाम लागिहेको छ । स्थानीय समय अनुसार दिउँसो २ बजे (नेपाली समय अनुसार मध्याह्न १२ बजे)सम्ममा मैदान खेल्न योग्य भए र मौसमले साथ दिए खेल सुरु हुने अम्पायरले जनाएका छन् ।

यसअघि गत शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली हङकङसँग ८३ रनको पराजय ब्यहोरेको थियो ।

यदि आजको खेल स्थगित भएमा दुवै टोलीले एक एक अंक बाँड्नेछन् । यस नतिजाले नेपाल आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पुग्न असफल हुनेछ । त्यतिमात्र होइन उसले विश्व क्रिकेटमा एक तह घटुवा हुँदै डिभिजन टू मा झर्नुपर्नेछ ।
आगामी २०१८ मार्चमा हुने डिभिजन टूमा शीर्ष दुईभित्र पर्न सके नेपालले सन् २०१९ मा हुने विश्वकप छनोट भने गुमाउनुपर्ने छैन । जारी प्रतियोगितामा नामिविया र युएई यसअघि नै डिभिजन टूमा घटूवा हुने निश्चित भइसकेको छ । डिभिजन थ्रीको शीर्ष दुईमा रहँदै क्यानडा र ओमान बढुवा भएका छन् ।

ङकङसँग अंक बाँडेपछि नेपालको ९ अंक हुनेछ भने हङकङको १४ अंक हुनेछ । अन्तिम चरणमा नेपालले आगामी डिसेम्बरमा युएईसँग खेल्नेछ ।

नेदरल्याण्ड्स, पपुवा न्युगिनी, स्कटल्याण्ड, हङकङ र केन्यामध्ये चार टिमले विश्वकप छनोट खेल्न पाउनेछन् ।

Most Popular

To Top