International News

दक्षिण अफ्रिकालाइ श्रृखला, डिभिलीयर्सको २५ औ सतक

एबी डी भिलियर्सले ब्याटिङका लागि प्रतिकूल पिच र स्लो आउटफिल्डका बावजुद उत्कृष्ट शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो वान डेमा जित हासिल गरेको छ । बुधबार १ सय ४ रनको जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज पनि आफ्नो पक्षमा पारेको छ । टोलीले पहिलो वान डे १० विकेटले जितेको थियो ।

टस हारेपछि ब्याटिङ निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ५३ रन जोडेको थियो । ओपनर हसिम अमलाले ८५ रन र क्विन्टन डी ककले ४६ रनको योगदान दिए । चौथो नम्बरमा ब्याटिङ गरेका डी भिलियर्सले १ सय ४ बल खेल्दै १ सय ७६ रन जोडे । उनले आफ्नो इनिङ्समा १५ चौका र ७ छक्का प्रहार गरेका थिए । ६८ बलमा शतक पूरा गरेका डी भिलियर्सको यो २५ औं वान डे शतक हो । बंगलादेशका लागि रुबेल हुसेनले ४ र शकिब अल हसनले २ विकेट लिए ।

जवाफी ब्याटिङमा बंगलादेशले पनि सुदृढ सुरुआत पायो । ओपनर इमरुल केयसले ६८ रनको योगदान दिँदा टोली एक समय १६२–२ को स्थितिमा थियो । तर नियमित विकेट पतनसँगै टोली संकटमा पर्‍यो । उसका लागि विकेटकिपर मुस्फिकर रहिमले ६० र महमुदुल्लाहले ३५ रन जोडे । ४७.५ ओभरमा सबै विकेट गुमाउनुअघि बंगलादेशले २ सय ४९ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि अन्दिले फेहलुक्वायोले ४ र इमरान ताहिरले ३ विकेट लिए । तेस्रो तथा अन्तिम वान डे आइतबार हुनेछ ।

Most Popular

To Top