Nepal Women Cricket

महिला खेलाडीको प्रशिक्षण सुरु, एक साता बङगलादेशमा प्रशिक्षण गर्ने

एक महिनापछि थाइल्यान्डमा हुने आइसिसी महिला विश्व टी–२० छनोट अन्तर्गत एसिया छनोटका लागि नेपाली टिमले तयारी सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको पहिलो चरणको तयारीमा ४४ खेलाडी सहभागी छन्।

गत वर्ष भएको सातौं राष्ट्रिय खेलकुद, अत्तरिया कप र इटाहरीमा भएको राष्ट्रिय प्रतियोगिताका आधारमा पहिलो चरणमा खेलाडी छानिएका हुन्। नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले घरेलु प्रतियोगिता हुन नसक्दा एक वर्षअघिकै प्रतियोगितामा गरेको प्रदर्शनलाई छनोटको आधार मानिएको छ। आइसिसीको प्रत्यक्ष निगरानीमा रहेको नेपाली महिला टिमको प्रशिक्षकमा सामसङजंग थापा छन्। यसअघि नेपाली टिमलाइ राजु बस्न्यातले प्रशिक्षण दिएका थिए ।

पहिलो चरणको छनोटमा सहभागी खेलाडीलाई ४ टिममा विभाजन गरी एकआपसमा ३–३ अभ्यास खेल्नेछन्। यही आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट हुनेछन्। अभ्यासमा उत्कृष्ट प्रदर्शन गरेका २२ खेलाडीलाई दोस्रो चरणको टिममा स्थान दिइनेछ । दोस्रो चरणको बन्द प्रशिक्षणपछि १४ सदस्यीय अन्तिम टिम घोषणा गरिनेछ। अन्तिम टिमले एक साता बंगलादेशमा प्रशिक्षण गर्नेछ ।

नेपाली टिम २३ कात्तिकमा बंगलादेश जानेछ। बंगलादेशमा एक साता प्रशिक्षण गरेपछि एसिया छनोट खेल्न सिधै थाइल्यान्ड प्रस्थान गर्नेछ। बंगलादेशमा रहँदा नेपालले स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ।
एसिया छनोट २ मंसिरदेखि सुरु हुनेछ। छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछ।

Most Popular

To Top