National News

क्यानको आसन्न निर्वाचन मान्नु नियम विपरीत हुने- आइसीसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आफूहरूबीच भएको सहमति विपरीत विधान संशोधन गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय निर्वाचनमा सहभागिता जनाउनु अनुचित भएको स्पष्ट पारेको छ ।

कान्तिपुर पत्रिकाका अनुसार भदौ ६ गते भएको विशेष साधारणसभामा क्यानले संशोधनसहित नयाँ विधान पारित गरेको थियो । त्यसलाई राष्ट्रिय खेलकुद परिषद्ले भदौ २६ मा स्वीकृति दिएको थियो । राखेपको स्वीकृतिपछि क्यानले पुस ९ भित्र जिल्ला, प्रदेश हुँदै केन्द्रको निर्वाचन गर्ने जानकारी दिएको थियो । त्यसअनुसार ३९ मध्ये ३७ जिल्लामा निर्वाचन सम्पन्न भइसकेका छन् । यद्यपि आईसीसीले पारित भएको संशोधन विधान आफूहरूबीचको सहमति विपरीत रहेको जनाएको छ । आईसीसीले गत वर्षको वैशाख १३ मा क्यानलाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवा गर्न र संशोधनसहित नयाँ विधान बनाउनका लागि आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको थियो । सल्लाहकार समिति, क्यान र आईसीसीबीच भएका विभिन्न चरणका वार्ताहरूपछि क्यानले विशेष साधारणसभा बोलाएको थियो ।

आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्यालललाई संशोधित बुँदाहरूमा विश्व क्रिकेटको सर्वोच्च संस्थाको ध्यानाकर्षण भएको जानकारी गराएका छन् । ‘सल्लाहकार समितिद्वारा संशोधित तथा प्रस्तावित क्यानको विधान विशेष साधारणसभामा पारित नभएकोमा आईसीसी बोर्डको ध्यानाकर्षण भएको छ,’ ग्लेनराइटले प्याकुर्यााललाई पठाएको इमेलमा भनेका छन्, ‘सल्लाहकार समितिले सहमति जनाएका बाहेक २७ बुँदा संशोधित गरी विशेष साधारणसभाले पारित गरेको छ । ल्याइएका परिवर्तनका विषयमा हामीले कानुन परामर्श खोजिरहेका छौं र यसपछि मात्र ती परिवर्तनका विषयमा छलफल गर्नेछौं ।’

उक्त इमेलमा अगाडि भनिएको छ, ‘कानुनी परामर्शपछि मात्रै हामीले काठमाडौंमा अगाडि चाल्ने कदमहरूका विषयमा छलफल गर्न म प्रस्ताव राख्दछु । तत्कालका लागि आईसीसी र क्यान सहमतिमा नपुगुन्जेलसम्म हामीले संशोधित विधानको निर्वाचनमा सहभागिता जनाउनु अनुचित हुन्छ । विधान कार्यान्वयनमा कुनै पनि गतिविधि हालका लागि स्थगित गर्न हामी सुझाव दिन्छौं ।’ आईसीसीले क्यानले गरेका संशोधनहरूमै प्रश्न उठाएपछि हालै भएका जिल्ला निर्वाचनहरू पनि आईसीसीको स्वीकृतिबिनै भएको देखिन्छ ।
सल्लाहकार समितिको अन्तिम बैठकमा क्यानका ३१ मध्ये निर्वाचित भएर आएका १७ सदस्यले एक कार्यकाल लागि मताधिकार पाउनुपर्ने अडान राखेको प्याकुर्या लले जनाउँदै आएका छन् । जबकि आईसीसीका पछिल्ला इमेलहरूमा क्रिकेटसँग सरोकारवालाहरूले प्रस्तावित विधानमा सबैको सहमति रहेको जनाउँदै आएको लेखिएको छ । प्याकुर्यावलले अक्टोबर २० मा आईसीसीलाई इमेल पठाउँदै संवैधानिक प्रावधानअनुरुप अनुगमन समिति गठन गर्नका लागि आईसीसीका प्रतिनिधि पठाउन अनुरोध गरेका थिए ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले सेप्टेबर २६ मा पठाइएको इमेलमा निलम्बन फुकुवा गर्न पुनर्बहालीका सर्तहरू पूरा भए–नभएको प्रमाणसहित उपलब्ध गराउन निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई बारम्बार आग्रह गर्दा कुनै प्रतिक्रिया नपाएको बताएका छन् । रिचर्डसनले क्यानको निर्वाचन निष्पक्ष रहे नरहेको र यसअघि भनिएको सरकारी हस्तक्षेपको समस्या पनि पूर्ण रूपमा निराकरण भए–नभएको भनी सोधेको उल्लेख गरेका छन् ।

Most Popular

To Top