National News

राम्रो क्रिकेट खेल्ने लक्ष्यमा नेपाली टिम, आज युएइ जादै

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलका लागि नेपाली टिम यूएइ प्रस्थान गर्दैछ । यसअघि नेपालले दुबईमा नै अमरीका, केन्यासंग पनि खेल्नेछ ।

यूएई सन् २०१५ को विश्वकप खेलेपछि च्याम्पियनसिप खेल्न आएको थियो । विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो भएपछि नेपालले २०१९ को विश्वकप छनोटको आधार मानिएको च्याम्पियनसिप खेल्ने मौका पाएको थियो । दुवै टोलीका प्रदर्शन सोचेअनुरुप भएन । मोहम्मद तौकिर र खुरम खानको संन्यासपछि च्याम्पियनसिपमा यूएईको प्रदर्शन निकै फितलो थियो ।

आफ्नो पहिलो खेलमा केन्यालाई पराजित गरेको यूएईले त्यसपछि लगातार ७ खेल हार्‍यो । पपुवा न्युगिनी र नामिबियासँगको पछिल्ला २–२ खेलमा १–१ मा विजय हात पारे पनि यूएई ६ अंकसाथ ८ राष्ट्रसम्मिलित च्याम्पियनसिपको अंकतालिकामा पुछारमा छ । नेपालले पनि पहिलो ४ खेल हार्दै च्याम्पियनसिपको सुरुआत गरेको थियो । त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो ।

तर हङकङसँग पछिल्लो खेलमा विजय हात पार्न नसकेपछि नेपालको शीर्ष चारको यात्रा सकियो । च्याम्पियनसिपमा नेपाल ९ अंकसाथ छैटौं स्थानमा छ । नेपाल र यूएईले अब विश्वकप छनोटमा पुग्न डिभिजन २ को यात्रा समाउनुपर्नेछ । फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ को शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्ने प्रावधान छ । त्यही डिभिजन २ पूर्व नेपाल र यूएई च्याम्पियनसिपको अन्तिम खेलमा भिड्न लागेका हुन् । ‘यूएईले राम्रो खलिरहेको छ, त्यसमा गृहमैदानमा खेल्दै छ । डिभिजन २ लाई मानसिक रूपमा तयार राखेर हामीले राम्रो क्रिकेट खेल्ने हो । हामीले त्यहीअनुसार खेल्ने योजना बनाएका छौं । टिमलाई डिभिजन २ का लागि पुस गरिरहेका छौं । खेलाडी पनि त्यहीअनुसार तयार गर्ने हो । सिद्धान्त लोहनी, हासिम अन्सारीलाई पनि तयारी अवस्थामा राखेका छौं,’ नेपालका प्रशिक्षक जगत टमाटा भन्छन् ।

२० सदस्यीय टोलीलाई छोटयाउदा हासिमको नाम थिएन । यूएईसँग डिसेम्बर ६ र ८ मा खेल्नुअघि नेपालले डिसेम्बर १ मा अमेरिका र ३ मा केन्यासँग यूएईको अबुधाबीमा अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार यूएई जाँदै छ । ‘हाम्रो राम्रो तयारी भयो, खेलाडीले राम्रो मिहिनेत गरेका छन् । सबैभन्दा महत्त्वपूर्ण भनेको नतिजा हो । हामी जुन स्थानमा छौं त्यसलाई कायम राख्न चाहन्छौं । नेपालले सधैं राम्रो क्रिकेट खेलेर जुन छाप बनाएको छ, दुई अभ्यास खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छौं,’ प्रशिक्षक टमाटा राम्रो क्रिकेट पस्कन आतुर देखिन्छन् ।

दिलीप र शक्ति गौचनले यूएई भ्रमणबाट नेपाली टोलीमा पुनरागमन गर्दै छन् । मार्चमा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा पहिलोपल्ट मौका पाउँदा दिलीपले बंगलादेशसँग ४१ र हङकङसँग १२ रन बनाएका थिए । त्यहाँ उनले दुवै खेल तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । उनी चोटका कारण र शक्ति अस्वस्थ्यताका कारण हङकङ भ्रमणमा थिएनन् ।

कान्तिुर पत्रिकामा आधारीत भएर

Latest News

To Top