Nepal U19

मलेसियामा देखाएको युवा टिमको बहादुरी, अबका चुनौती र अवसर

मलेसियामा भइरहेको एसीसी यू १९ युथ एसिया कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।जसमा भोली नेपालले अफगानिस्तानसग प्रतिस्पर्धा गर्नेछ । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरीदै आएको नेपालले यसपटकको प्रदर्शन विगतको भन्दा धेरै फरक गर्यो ।

बंगलादेशसँगको पहिलो खेलमा राम्रो चुनौती दिएको नेपालले भारतको यू १९ टोलीलाई पराजित गरी सबैलाइ आश्चार्यमा पार्यो र मलेसियालाई समूह चरणको अन्तिम खेलमा पराजित गरेपछि नेपाल पहिलो पटक नकआउट चरणमा पुग्न सफल भयो । नेपालले यसअघि आईसीसी यू १९ विश्वकपमा पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावेलाई पराजित गरिसकेको थियो । तर भारतसँगको जित विशेष थियो किनकी नेपालले पहिलो पटक विश्वको शक्तिशाली छिमेकी राष्ट्रलाई उमेर समूहमा पराजित गरेको थियो । मलेसयाली भुमिमा देखाएको बहादुरीपनले नेपाली युवा क्रिकेट खेलाडीमाथि धरैको नजर परेको छ ।

तर मैदानबाहिर भने ठीक त्यसको विपरीत छ नेपाली क्रिकेट । आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको डेढ वर्षभन्दा बढी भइसकेको छ । नेपाली क्रिकेटको सर्वोच्च निकायलाई निलम्बन गरेपछि आईसीसीले आफैं नेपाली क्रिकेटको व्यवस्थापन हेरिरहेको छ । क्यान निलम्बनसँगै राष्ट्रिय प्रतियोगिताहरू रोकिएका छन् । राष्ट्रिय प्रतियोगिता रोकिँदा खेलाडी निस्कने बाटा बन्द भएका छन् । प्रशिक्षकहरूले अघिल्लो वर्ष मोफसलमा ‘ट्यालेन्ट हन्ट’ गर्न जानुपरेको थियो । त्यहीँ देखा परेका धेरै खेलाडीले अहिले मलेसियामा इतिहास रचेका हुन् ।

राष्ट्रिय प्रतियोगिताबिनै यति खेलाडी निस्किन्छन् भने प्रतियोगिता सञ्चालन गर्दा कति खेलाडी निस्कन्थे, सहजै कल्पना गर्न सकिन्छ । नेपाली क्रिकेटको व्यवस्थापनमा देखिएको यो खाडल पुर्नलाई अगाडि आएर काम गर्ने कोही छैनन् । निलम्बनको अवस्थामा पनि नेपाली क्रिकेट विवाद आपसी खिचातानीमा अल्झिएको छ । आफू र आफ्ना व्यक्ति संघभित्र रहे मात्र विवाद मिल्छ भन्ने मानसिकताका कारण नेपाली क्रिकेटको निलम्बन समय लम्बिँदो छ । नेपाली युवा टोलीले युथ एसिया कपमा देखाएको प्रदर्शनले गर्व गर्ने अवसर दिए पनि उनीहरूको ध्यान मैदानबाहिरकै विवादमा ज्यादा छ ।

युवा क्रिकेट राम्रो हुँदा राष्ट्रिय टोली मजबुत हुन्छ । विगतमा युवा टोलीले राम्रो प्रदर्शन देखाउँदा र उनीहरूलाई त्यहीअनुरूप बाटो देखाइँदा राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा गरेको थियो । राष्ट्रिय टोलीलाई विश्वकप अहिले एकादेशको कथा भइसकेको छ । त्यही भएर मलेसियामा जोसिलो प्रदर्शन गरेको युवा टोलीलाई संरक्षण गर्न जरुरी छ । नेपाली यू १९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र आशिफ शेखले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । अन्य खेलाडीका हकमा मलेसियाबाट फर्किएपछि के हुने हो, केही टुंगो छैन । हिजोका दिनमा पनि अनिल खरेलजस्ता खेलाडीले युवा क्रिकेटमा असाधारण प्रदर्शन गरेका थिए । तर त्यसपछि उनले अर्को प्रतियोगिता खेल्न पाएका छैनन् । यू २३ हँुदै नेपाल ‘ए’ टोली बनाएर यू १९ का खेलाडीलाई अगाडि बढाउने हो भने राष्ट्रिय टोलीलाई टेवा पुग्न जाने पक्का छ । डिभिजन २ हुँदै विश्वकप छनोट खेल्ने योजना बनाइरहेको राष्ट्रिय टोलीमा स्तरीय खेलाडीको अभाव देखिँदै आएको छ ।

कान्तिपुर पत्रिकाको सम्पादकियमा आधारीत भएर

Latest News

To Top