प्रधानमन्त्री कप क्रिकेट, खेलाडी सम्झौताका कारण सशस्त्रको टिम खेल्ने सम्भावना न्युन

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबको सहभागिता अनिश्चित बनेको छ । नेपाली क्रिकेटको सर्वाधिक धनराशिको वान डे प्रतियोगिता मंगलबार सुरु भएको थियो । निर्धारित तालिकाअनुसार दाबेदार मानिएको एपीएफले सोमबार पश्चिमाञ्चलसँग आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम छ ।

सशस्त्र प्रहरी बलले ‘कन्ट्रयाक्ट’ मा रहेका खेलाडीलाई अब नराख्ने भएपछि नेपाली खेलकुद प्रभावित हुँदा प्रधानमन्त्री कपमा सहभागिता पनि अनिश्चित बनेको हो । नेपाल एपीएफ क्लबमा झन्डै ५० खेलाडी कन्ट्रयाक्टमा छन् । नयाँ वर्षसँगै भर्ती भएर आएका खेलाडीमात्र क्लबबाट खेलाउने एपीएफले नीति बनाएको छ ।

एपीएफको क्रिकेट टोलीमा भुवन कार्की, यज्ञमान कुमाल र प्रदीप ऐरीमात्र भर्ना भई जागिरे खेलाडीमा खेलिरहेका छन् । एपीएफको क्रिकेट टोलीका १७ मध्ये अन्य खेलाडी ‘कन्ट्रयाक्ट’ मा रहेर खेल्दै आएका छन् । त्यसमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का अमेरिका छन् । उनले जारी प्रतियोगिता खेल्ने छैनन् । त्यस्तै अस्वस्थताका कारण करण केसीको पनि प्रधानमन्त्री कपमा सहभागिता छैन ।

‘सशस्त्र प्रहरी बलभित्र परामर्श समिति छ, उसले कन्ट्रयाक्ट खेलाडी नराख्नू भनेर निर्णय गरेको छ,’ खेलकुद विभाग हेर्ने सशस्त्रका प्रहरी उपरीक्षक लक्ष्मण सिंहले ‘हामीसँग झन्डै ५० कन्ट्रयाक्ट खेलाडी छन् । उनीहरूको पारिश्रमिक झन्डै ७० लाख रुपैयाँ छ । क्लबको आम्दानी कम र खर्च बढी छ । त्यो अनुसार हामीलाई बजेटमा पनि समस्या छ भने ।

सशस्त्रको हलचोक मैदान, क्लबको इन्डोर हल भाडा, सदस्यता शुल्क र अक्षय कोषको ब्याज क्लबको आम्दानी स्रोत हो । विभिन्न खेलका लागि कन्ट्रयाक्टमा लिएका खेलाडीलाई एपीएफले मासिक १० देखि २० हजारसम्म पारिश्रमिक दिँदै आएको छ । क्रिकेटमा वर्षमा एउटा मात्र प्रतियोगिता खेल्नुपर्ने र प्रायोजक नपाउँदा पनि गाह्रो भएको सिंह बताउँछन् ।

उनले कन्ट्रयाक्टमा लिएका आफ्ना खेलाडीलाई चैतसम्मको पारिश्रमिक उपलब्ध गराइसकेको बताए । उनले भने, ‘प्रधानमन्त्री कपका लागि हामीले क्लब दर्ता गरिसकेका छौं र हामी प्रतिस्पर्धा पनि गर्दै छ । यसमा खेलाडीसँग सहमति पनि भइसकेको छ । कन्ट्रयाक्ट खेलाडी नराख्ने भएका कारण केही अन्योल बनेको हो । हामीले क्रिकेट खेलाडीका लागि केही विकल्प दिएका छौं, त्यसमा उहाँहरू सहमत भएर खेल्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’

उनका अनुसार प्रधानमन्त्री कप खेल्न प्रायोजकको खोजी भइरहेको छ । प्रधानमन्त्री कपको पुरस्कार राशिमा विजेतालाई २० लाख र उपविजेतालाई १० लाख छ । ‘हामीले खेलाडीलाई हटाउन खोजेका हौइनौं, उहाँहरूले कसरी बुझ्नुभयो थाहा भएन,’ सिंहले भने, ‘विजेता भएमा पुरस्कार राशि खेलाडीले नै राख्नु अर्थात एउटा प्रतियोगिताको म्याच फी मात्र लिएर खेल्नु, प्रायोजक आएमा त्यो रकम पनि खेलाडीले नै राख्नु भनेर हामीले केही विकल्प दिएका छौं, खेलाडीले यसलाई मानेर खेल्छन् होला ।’

तर केही खेलाडीले भने यस्तो अनिश्चित वातावरणमा खेल्न गाह्रो हुने जनाएका छन् । एपीएफले २०६७ सालमा काठमाडौंमा मदन भण्डारी स्मृति कप क्रिकेटदेखि सहभागिता जनाउँदै आएको छ । सोही वर्ष धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले पुरुष र महिला क्रिकेट दुवैमा स्वर्ण जितेको थियो । पुरुष क्रिकेटले गत वर्ष पूर्वाञ्चलमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरी स्वर्ण पदक रक्षा गरेको हो ।

एपीएफबाट राष्ट्रिय टोलीका कप्तान पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल, पृथु बाँस्कोटा, सन्दीप लामिछाने, सन्दीप सुनार, आसिफ शेखले खेल्दै आएका छन् । विगतमा महबुब आलम, परेश लोहनी, दीपेन्द्र चौधरी, शरद भेषावकर, सन्जम रेग्मी, अमृत भट्टराई, रोम श्रेष्ठ, सन्जय श्रेष्ठले एपीएफबाट खेलेका थिए ।

कान्तिपुर पत्रिकाबाट साभार गरिएको

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest