सौरभ र कृष्णको मेहेनत काम लागेन, पश्चिमाञ्चल ४ विकेटले हार्यो, फाइनलमा आर्मी र पुलिस भिडने

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिडने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई चार विकेटले हराउदै पुलिससंगको उपाधी भिडन्त पक्का पारयो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले ४९ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउदै दुई सय ३५ रन बनायो । पश्चिमाञ्चललाई बलियो लक्ष्य दिलाउन सौरभ खनाल र कृष्ण कार्कीले उत्कृष्ट साझेदारी गरे । ६ रन हुदा दुई विकेट गुमाएको पश्चिमाञ्चलले ३६ रन बनाउदा तीन विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । पारीको सुरुवातमा आर्मीका बलर सामु निरीह देखिएको पश्चिमाञ्चलले ६६ रन हुदा सात विकेट गुमाइसकेको थियो । तर आठौ विकेटका लागि पुछारका खेलाडी सौरभ खनाल र कृष्ण कार्कीले एक सय ४५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए । घरेलु प्रतियोगितामा आठौ विकेटका लागि गरिएको यो ठुलो साझेदारी हो । सम्हालिएर खेलेका सौरभले ८२ रन बनाए । उनले ८६ बलमा दुई चौका र आठ छक्का प्रहार गरे । जारी प्रतियोगितामा सौरभको यो तेस्रो अर्धसतक हो । यस्तै कृष्ण कार्कीले पनि दुई चौका र ६ छक्काको मद्दतले ७५ रन बनाए । बाकि खेलाडीमा नुरद्धोज सेनले २६ र प्रकाश केसीले १३ रन बनाउदा बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ आर्मीका सोमपाल कामी, जितेन्द्र मुखिया, सागर पुन र साहव आलमले दुई दुई विकेट लिए ।

जवाफमा आर्मीले ४८ ओभर दुई बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । १६ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि दोस्रो विकेटका रुपमा सागर पुन र अनिल मण्डलले एक सय आठ रनको साझेदारी गर्दै टिमलाई जित तर्फ अगाडी बढाए । अनिलले ४८ रन बनाए भने सागर पुनले ६५ रन बनाए । यस्तै राजु रिजालले २६ र कप्तान विनोद भण्डारीले १७ रन थपे । ४८ औ ओभरमा सौरभ खनालको बलमा राजेश पुलामी मगरले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुरयाए । राजेशले अविजीत ५५ रन बनाए । पुलिसले यसअघि नै सशस्त्रलाई हराउदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल पर्सि हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest