आईपीएलपछि सन्दिपले क्यारेवियन प्रिमियर लिग खेल्ने

क्रिकेट करिअरमा एकपछि अर्को इतिहार राख्दै नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग आईपीएलपछि क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन्दिपलाई सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले अनुबन्ध गरेको छ । बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा प्याट्रियट्सले सन्दिपलाई ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

१७ वर्षीय किशोर लेग स्पिनरलाई यसअघि इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो ।

नामिवियामा भएको डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज हुनु र आईपीएलमा छनोट हुनु सन्दिपका लागि सीपीएल अनुबन्धको मुख्य आधार बन्यो ।

सीपीएलमा सन्दिपले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिश गेलसँग ड्रेसिङ रुम शेयर गर्नेछन् । गेल त्यस टिमका कप्तान हुन् । गेलका साथै क्रिश मोरिस, बेन कटिङ स्यामुअल बद्री लगायतका खेलाडी सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्समा छन् ।

क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने सीपीएलमा ६ फ्रेन्चाइजी टोली छन् । प्रतियोगिताको यो छैटौं संस्करण हो । अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा प्रतियोगिता आयोजना हुनेछ ।

सीपीएलको अक्सन भइरहँदा सन्दिप भने नेपाली राष्ट्रिय टोलीसँगै जिम्बाबेमा छन् । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको लागि छनोट प्रतियोगिता खेल्न नेपाली टोली जिम्बाबेमा छ । प्रतियोगिताको समूह बी मा रहेको नेपालले जिम्बाबे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest