एकदिवशीय मान्यता पाएको नेपाली क्रिकेटलाई अबको बाटो कति सहज ?

नेपालले विश्वकप खेलेको हेर्न चाहनेहरुका लागि जिम्बावेमा भलै नेपालको प्रदर्शन सन्तोषजनक रहेन, तर, नेपाली क्रिकेटले एउटा महत्वपूर्ण कोशेढुंगा पार गरेको छ, एकदिवशीय मान्यता पाएर । कम्तिमा चार वर्षकै लागि किन नहोस, हामी एकदिवशीय मान्यता प्राप्त मुलुक भएका छौं, यसका फाइदा क्रमसः नेपाली टिम, खेलाडी र समर्थकले हासिल गर्दै जानेछन् ।

नामिवियामा क्यानडासँगको निर्णायक खेलमा करण केसी र सन्दिप लामिछानेको ऐतिहासिक प्रदर्शनले नेपाललाई जिम्बावे पु¥याएको हो । जिम्बावेमा टेष्ट मान्यताप्राप्त टोलीसँगको खेलमा नेपालले सुधार गर्नुपर्ने ठाउँ धेरै देखियो । समूह चरणमा जिम्बावेसँग ११६ रनको हार र त्यसपछि स्कटल्याण्ड र अफगानिस्तानसँगको लगातार हारले नेपाल सुपरसिक्समा पुग्न सकेन ।

तर, समूहको अन्तिम खेलमा हङकङलाई हराएर तथा क्रस प्लेअफमा पपुवा न्युगिनीमाथि ६ विकेटको शानदार जित हासिल गरेर नेपालले एकदिवशीय मान्यता पाएको हो । यहाँ नेपाल भाग्यमानी यसअर्थमा पनि रह्यो कि अर्को क्रस प्लेअफमा नेदरल्याण्ड्सले हङकङलाई हराएपछि एकदिवशीय मान्यताका लागि योग्य बन्यो ।

एकविदशीय हरेक खेलाडीको त्यो सपना हो जसलाई पाउन उनीहरुले दिनरात मिहिनेत गरे । सीमित स्रोत र साधनको भरपुर सदुपयोग गर्दै मैदान बाहिर रहेका हरेक समस्या अनि प्रश्नहरुको जवाफ उनीहरुले मैदान भित्रबाट दिएका छन् ।

एकदिवशीय मान्यता पाएपछि फाइदा धेरै छन्, सबैभन्दा मुख्य कुरा त नेपालले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता प्राप्त अन्य मुलुकसँग खेल्न पाउँछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अनुदान लगायत खेलाडीको म्याच फी र सुविधा ह्वात्तै बढ्छ । यसबाहेक अन्य फाइदाहरु यसप्रकार छन् ।

एकदिवशीय मान्यता पाएपछि:
१. नेपाल आइसीसीको एकदिवशीय बरियतामा समावेश हुनेछ ।
२. नेपाली खेलाडीहरु पनि एकदिवशीय बरियतामा समावेश हुनेछन् ।
३. एकदिवशीय मान्यता पाएका देशहरुबीच आईसीसीले त्रिकोणात्मक वा अन्तर्राष्ट्रिय सिरीज राख्न सक्छ ।
४. यस्तै आईसीसीसँग सहकार्य गरेर आफैंले पनि एकदिवशीय श्रृखंलाको आयोजना गर्न सक्छ । तर नेपालमा क्रिकेटको आधिकारीक निकाय नहुँदा तत्कालका लागि केहि कठिन भने हुनेछ ।
५. नेपालले इन्टरकन्टिनेन्टल प्रतियोगिता खेल्नेछ । जुन, चार दिवशीय हुनेछ ।
६. आईसीसीबाट आउने अनुदानमा पनि उल्लेख्य बृद्धी हुनेछ । खेलाडीको म्याच फी र सुविधामा पनि सुधार हुनेछ ।
७. नेपालको घरेलु लिगको मापदण्ड अन्तर्राष्ट्रिय स्तरको भएमा त्यसलाई आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ ।
८. नेपालले टि–ट्वान्टी मान्यता पनि स्वतः पाएको छ ।

क्यानको निलम्बनले निम्त्याउने समस्या

नेपाललाई क्रिकेट खेलबाट एकपछि अर्को सफलता दिलाइरहेको क्रिकेट टोलीको अभिभावक नेपाल क्रिकेट संघ आईसीसीको निलम्बनमा परेको आगामी बैशाखमा २ वर्ष पूरा हुन्छ । आन्तरिक विवाद र असक्षम नेतृत्व करार गर्दै आईसीसीले गरेको निलम्बनबारे आगामी जुनमा बस्ने बैठकले छिनोफानो गर्ने अपेक्षा गरिए पनि अन्यौलता कायमै छ । तर, यही बिचमा नेपाली टिमले भने ऐतिहासिक सफलता हासिल गरेको छ एकदिवशीय मान्यता पाएर ।

नेपाल क्रिकेट संघको विवाद यथास्थितिमा रहिरहे नेपालले एकदिवशीय मान्यता पाएर पनि धेरै गुमाउन सक्नेछ । एकदिवशीय मान्यता पाएका अन्य मुलुकहरु, विशेष गरी भारत, पाकिस्तान, अष्ट्रेलियाजस्ता टिमसँग सिरिज खेल्नका लागि संघ या बोर्डमार्फत पहल गर्नुपर्ने हुन्छ । यस्तै अवस्था रहिरहे नेपाली टोली यस्ता सिरिज गुमाउन सक्छ । भलै आईसीसीले पहल गरिदिएमा पूरा हुनसक्छ, तर, उसका लागि यो बाध्यकारी हुँदैन र भए पनि इच्छाशक्ति नहुन सक्छ ।

कठिन परिस्थितीको सामना गर्दै जीत हात पार्नु नेपाली टिमको विषेशता हो । प्ले अफमा पपुवा न्युगिनीलाइ हराएपछि नेपाल अब विश्व क्रिकेटको वास्तविक मैदानमा प्रवेश गरेको छ । यहाँबाट नेपालका लागि अवसरै अवसरका धेरै ढोकाहरु खुलेका छन् ।

नेपाल १२ टेस्ट खेल्ने राष्ट्र, नेदरल्यान्डस, स्कटल्यान्ड, युएईपछि आइसीसी वरियतामा १५औं स्थान आएको छ ।

सन् १९९६ देखी अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालले डिभिजन पाँच, चार हुदै एकदिवसिय मान्यतासम्मको यात्रा तय गरेको हो । तर यो सफलतालाई नेपालले कसरी सदुपयोग गर्छ भन्ने प्रश्न भने यथावत छ । किनकी २०१४ मा ट्वान्टी ट्वान्टी विश्वकप खेलपछि नेपालको क्रिकेटले फड्को मार्ने आंकलन गरिएको थियो । तर, नेपाल क्रिकेट संघ आपसी विवादमै रुमल्लिँदा क्रिकेट झनै पछि धकेलियो । अहिले पनि त्यस्तो हुन नदिन आईसीसीले चाहेजस्तो सक्षम नेतृत्व नेपालले छिट्टै पाउला त ?

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest