भविष्यमा निकै आश गरिएका खेलाडी रोहित

बितेको १ महिना नेपाली क्रिकेटले दुई ठूला प्रतियोगिता खेल्यो, आवश्यक खेलहरु जितेर नेपालले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पायो । तर, नेपाली टिमप्रति धेरैको गुनासो अहिले पनि के रहेको छ भने एकदिवशीय मान्यता पाए पनि नेपालको ब्याटिङ चाहि कहिल्यै नसुध्रने भयो ।

हुन पनि नामिविया र जिम्बावे भ्रमणमा नेपालले १२ लिष्ट ए खेल खेल्यो, जसमा कप्तान पारस खड्काबाहेकका अन्यको ब्याटिङले नेपाली समर्थकमात्र होइन स्वयम् खेलाडीनै सन्तुष्ट छैनन् । उनीहरु भन्छन् कि हामीले राम्रो ब्याटिङ गर्न नसकेकै हो ।

तर, नेपालको फ्लप ब्याटिङ लाइनअपकै बीच कालो बादलमा चाँदीको घेरा भनेझैं टिमका युवा प्रतिभाहरु छन्, जसले नामिविया र जिम्बावेमा एउटा आशा देखाएका छन्, आगामी चार वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता रहिराख्दा यिनै युवा ब्याट्सम्यानले नेपालको ब्याटिङ काँधमा बोक्नसक्ने अपेक्षा गरिएको छ ।

रोहित कुमार पौडेल

१६ वर्ष लागेका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले क्रिकेट सिक्न थालेको चार वर्षमात्र भयो । नवलपरासीबाट बालुवाटार क्रिकेट एकेडेमीमा आएर ब्याट समाउन सिकेको चार वर्षको समयमा उनले यू–१९ हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा गरे ।

नामिवियामा भएको आईसीसी डिभिजन टू क्रिकेटमा नामिवियाबिरुद्धको खेलमा डेब्यू गरेका रोहितले एक महिनाको बीचमा १२ लिष्ट ए म्याच खेले । २६ को औषतमा उनले २३७ रन बनाएका छन् । विश्वकप छनोटमा हङकङबिरुद्धको म्याच विनिङ अविजित ४८ रन उनको अहिलेसम्मको सर्बाधिक स्कोर हो ।

सिनियर टिमको म्याच एक्स्पोजरबारे उनले भनेका छन् कि, ‘सिनियर दाइहरुसँग ड्रेसिङ रुम शेयर गर्न पाएँ, पोजेटिभ कुराहरु सिकियो, जिम्बावेमा टेष्ट प्लेइङ राष्ट्रसँग खेल्न पाएँ ।’

‘डेब्यू म्याच र १२औं खेल मेरा लागि समान थियो, नामिवियासँगको डेब्यू खेलमा ५–६ विकेट खसिसकेको थियो । म ब्याटिङमा आउँदा अर्को एण्डमा शरद (भेषावकर)दाई हुनुहुन्थ्यो, मैले कसरी उहाँलाई स्ट्राइक रोटेट गर्ने भन्नेमात्र सोचेको थिएँ । ब्याट्सम्यानको रुपमा मैले खेललाई जिताउन सकिन भन्ने ग्लानी रहिरह्यो ।’

खेल जिताउन पाएपछिको खुसीको क्षण उनी शब्दमा ब्यक्त गर्न सक्दैनन् । हङकङबिरुद्धको जित एकदिवशीय मान्यताका लागि अपरिहार्य थियो । सोमपालसँग मिलेर लामो साझेदारी गरेपछि नेपालले ५ विकेटको जित हासिल गर्न सफल भयो । त्यस खेलमा अविजित ४८ रनको पारी खेलेका रोहित भन्छन्, ‘हामीले जित्नैपर्ने थियो, तर ५ विकेट गइसकेको थियो । सोमपाल दाइ र मैले राम्रो साझेदारी गर्न सक्यौं र जितियो, म्याच जितेपछिको अनुभव कसरी व्यक्त गर्नु ?’

तर, उनले प्रतियोगितामा ब्याटिङ राम्रो हुन नसकेको स्वीकारे । भने, ‘सबै दाइहरुले नराम्रो खेल्नुभएको होइन, राम्रो बलमा पनि दुर्भाग्यबस आउट हुनुपरेको धेरै अवस्थाहरु छ । आफ्नो शतप्रतिशत खेल्दा पनि कहिलेकाहीँ त्यस्तै हुन्छ । तर, ब्याटिङमा ओपनिङ धेरै महत्वपूर्ण हुन्छ, ओपनिङ पार्टनरसिप राम्रो भयो भने पछिका ब्याट्सम्यानका लागि मोरल हाइ हुन्छ र अवश्य नै टिमको स्कोर हाइ हुन्छ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest