डिपीएल टिम काठमाडौ गोल्डेन्समा भारतीय खेलाडी जयकिसन र सन्नी पटेल अनुबन्ध

धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि काठमाडौं गोल्डेन्सले भारतका जयकिसन कोल्सावाला र सन्नी पटेललाई अनुबन्ध गरेको छ ।

गोल्डेनगेट एजुकेसन नेटवर्कको स्वामित्वनमा रहेको काठमाडौं गोल्डेन्सले एभरेष्ट प्रिमियर लिग टि–२० क्रिकेटमा ललितपुर प्याट्रियोट्सबाट खेलेका दुई ब्यासम्यानलाई अनुबन्ध गरेको हो ।

डिपीएलको अक्सनमा राम्रा ब्याट्सम्यानलाई अनुबन्ध गर्न चुकेको काठमाडौं गोल्डन्सका प्रशिक्षक राजु बस्नेतले दुई भारतीय खेलाडी अनुबन्ध गरेपछि टिम सन्तुलित भएको बताएका छन् । कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् भने पटेल ब्याटिङ अलराउण्डर हुन् ।

गुजरातबाट रणजी ट्रफी खेलेका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् । उनले लिस्ट ए का चार र तथा फर्स्ट क्लबका ९ खेल खेलिसकेका छन् ।

यस्तै राइट ह्यान्डेड ब्याट्सम्यान सन्नी पटेलले १३ फस्र्ट क्लास र १७ लिस्ट ए खेल खेलेका छन् ।

दुई खेलाडीका लागि गोल्डेन्सले हवाई टिकट बाहेक प्याकेजमा ६ लाख रुपैयाँ पारिश्रमिक दिनेछ । सोमबार नेपाल आइपुगेपछि उनीहरुले २ दिन कीर्तिपुर मैदानमा टिमसँग अभ्यास गर्नेछ ।

ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको गोल्डेन्सले धनगढी प्रिमियर लिगको पहिलो दिन अर्थात चैत १७ गते काठमाडौं गोल्डेन्सले टिम चौराहा धनगढीसँग खेल्नेछ ।

गोल्डेन्समा नरेश बुढाऐर, ललित राजवंशी, अमित श्रेष्ठ, सन्तोष भट्ट, किशोर महतो, रसिद खान, शाहब आलम, पुष्प थापा, सञ्जय श्रेष्ठ, भुपेन्द्र थापा, सञ्जय बस्नेत र विक्रम ठगुन्ना छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest