मनमोहन स्मृति क्रिकेटमा प्रदेश ७ को लगातार दोस्रो जित

काठमाडौंमा जारी मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगितामा प्रदेश ७ ले लगातार दोस्रो जित हासिल गरेको छ । प्रदेश ७ ले प्रदेश ४ लाई एक सय ५ रनले पराजित गरेको हो ।

बिनोद खत्री र नरेन्द्र सावदले नवौं विकेटका लागि १५२ रनको शानदार साझेदारी गरेपछि टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले २५.४ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

टिमको स्कोर २८ रन हुँदा ८ विकेट गुमाएको प्रदेश ७ का लागि बिनोदले ८० र नरेन्द्रले ४६ रन बनाए । बिनोदले ६९ बल खेलेर १३ चौका र नरेन्द्रले ५४ बल खेलेर १ छक्का र ४ चौका प्रहार गरे । बलिङतर्फ कृष्ण पौडेलले ४ तथा मेखबहादुर सेनले ३ विकेट लिए ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको प्रदेश ४ ले ३० ओभरमा ७ विकेट गुमाएर ८१ रनमात्र बनाउन सक्यो । उसका लागि अनित बरालले सर्बाधिक १६ रन जोडे ।

शनिबारै भएको दोस्रो खेलमा प्रदेश ६ ले प्रदेश ३ लाई ७ विकेटले हरायो । वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा प्रदेश ३ ले दिएको ११४ रनको लक्ष्य प्रदेश ६ ले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान प्रकाश जैसीले विष्फोटक पारी खेल्दै २९ बलमा ५१ रन बनाए भने विकेटकिपर ब्याट्सम्यान दिनेश पुनले अविजित ४५ रन जोडे । जैसी खेलको म्यान अफ द म्याच चुनिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । उसका लागि पिंयान्सु श्रेष्ठले अविजित ३८ रन बनाउँदा सुशान्त खत्रीले २३ रन जोडे ।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा प्रदेश ६ र प्रदेश १ तथा दोस्रो खेलमा प्रदेश २ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest