मेमोरियल यू–१६ क्रिकेट सेमिफाइनल समीकरण पूरा

काठमाडौंमा जारी मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

फाइनल प्रवेशका लागि समूह ए को विजेता प्रदेश ३ र समूह बीको उपविजेता प्रदेश २ तथा समूह बीको विजेता प्रदेश ७ र समूह ए को उपविजेता प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।

सोमबार भएको समूह बीका अन्तिम खेलहरुम प्रदेश २ ले प्रदेश ७ माथि १ विकेटको रोमाञ्चक जित दर्ता गर्न सफल भयो । यता अर्को खेलमा प्रदेश ५ ले प्रदेश ४ लाई ९ विकेटले हरायो । समूहको तीन खेल सकिँदा प्रदेश ७, २ र ५ को समान ४ अंक भए पनि रनरेटका आभारमा प्रदेश ७ र २ ले सेमिफाइनलमा स्थान बनाए ।

टियू मैदानमा सोमबार भएको पहिलो खेलमा प्रदेश ७ ले दिएको १९७ रनको लक्ष्य प्रदेश २ ले ९ विकेट गुमाएर २८.४ ओभरमा भेट्टायो । प्रदेश २ का लागि ओपनर अमित यादवले ६१ तथा मध्यक्रमका विवेक यादबले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै साहिल पटेलले ३१ र तृतराज दाशले १९ रन बनाए । बलिङतर्फ प्रदेश ७ का नारायण जोशी, महेश सावद, नरेन्द्र सावद र राहुल भण्डारीले २–२ विकेट लिए ।

यसअघि टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले राहुल भण्डारीले अर्धशतकीय योगदानमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । प्रदेश ७ का लागि भण्डारीका अलावा कप्तान नारायण जोशीले ३०, सुवास ऐरले २२ तथा राजन सिंहले २९ रज बनाएका थिए ।

बलिङतर्फ प्रदेश २ का निखिल सिंहले २ विकेट लिए ।

सोमबारै भएको दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश ४ लाई ९ विकेटले हराए पनि सेमिफाइनलमा स्थान बनाउन सकेन । प्रदेश ४ ले दिएको ७८ रनको लक्ष्य प्रदेश ५ ले ९.१ ओभरमै पूरा गरेको थियो । उसका ओपनर कुशल मल्ल पहिलो बलमै बोल्ड भए पनि अर्का ओपनर विशाल बिक्रम केसी र सिजन मकाजुले खेल जिताए । केसीले ३७ र मकाजुले ३६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि अनित बरालले १६ र दिपेन्द्र श्रीसले १२ रन बनाए पनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । प्रदेश ४ ले १५ अतिरिक्त रन पाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest