कोलकातालाई हराउँदै हैदरावाद आइपिएलको फाइनलमा, रासिद खानको अलराउण्ड प्रदर्शन

इण्डियन प्रिमियर लिग आईपीएलको १०औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । दोस्रो इलिमिनेटरमा रसिद खानले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि हैदराबादले कोलकातालाई १४ रनले हराउँदै चेन्नईसँगको भेट पक्का बनायो ।

कोलकाता स्थित इडेन गार्डेनमा भएको खेलमा अफगानी स्टार रसिद खानले १० बलमा ३४ रनको आक्रामक पारी खेलेपछि हैदराबादले सात विकेटको क्षतिमा १७४ रनको बलियो योगफल तयार पारेको थियो । १८औं ओभरको अन्तिम बलमा क्रिजमा आएका रसिदले चार छक्का र २ चौका प्रहार गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादका लागि ऋद्धिमान शाहाले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए । बलिङतर्फ कुलदिप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको कोलकाताले दरिलो सुरुवात गरेको थियो । आठौं ओभरसम्ममा दुई विकेटको क्षतिमा ८७ रन जोडेको कोलकाताको ब्याटिङ पङ्तिलाई रसिद खानले ध्वस्त बनाइदिए । चार ओभर बलिङ गरेका उनले तीन विकेट लिएर १९ रनमात्र दिए । उनले दुईवटा क्याच पनि लिएका थिए ।

सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २–२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट लिए । ब्याटिङतर्फ क्रिस लिनले ३१ बलमा ४८ रन जोडेका थिए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे ।

प्रतियोगिताको उपाधिका लागि हैदराबादले आइतबार चेन्नईको सामना गर्नेछ । प्लेअफमा चेन्नईले हैदराबादलाई हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest