कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि आर्मीलाई, शक्ति गौचनको टिम रुपन्देही ३७ रनले पराजित

कर्णाली प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागिय टिम त्रिभुवन आर्मीले जितेको छ ।

फाइनलमा प्रतियोगिता अवधिभर अपराजित रहेको शक्ति गौचनको टिम रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधी जितेको हो ।

राष्ट्रिय खेलाडी शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीले १ सय ३३ रनको लक्ष्य पच्छ्याएकोमा १७ दशमलब ५ ओभर खेल्दै जम्मा ९५ रनमा समेटिएको थियो । रुपन्देहीकालागि निश्चल चौधरीले २६, सन्दीप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रन जोडेका थिए ।

आर्मीका विक्रम शोवले ३, सुशन भारी र हरीकृष्ण झाले समान २–२ तथा जितेन्द्र मुखिया र चन्द्र सावदले १–१ विकेट लिए ।

टस हारेर पहिला व्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । आर्मीकालागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए । बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुषाल र सन्दीप सुनारले १–१ विकेट लिए। फाइनल म्यान अफ दी म्याच बिक्रम सोब भए ।

उपाधीसँगै आर्मीले नगद ३ लाख तथा उप विजेता भएको रुपन्देही ११ ले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । खेलको म्यान अफ दि सिरिज रुपन्देहीका अलराउण्डर सन्दीप सुनार भए । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान आर्मीका सागर पुन घोषित भए । पुनले नगद दस हजारसहित ट्रफी प्राप्त गरे । त्यसैगरी उत्कृष्ट बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दस हजारसहित ट्रफी प्राप्त गरे ।

बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा जेठ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागीता थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest