पीएम कप क्रिकेटको सेमिफाइनलमा आर्मी र प्रदेश ५ खेल्दै

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बीको उपविजेता प्रदेश नम्बर ५ आमने सामने हुनेछन् ।

दुईबीचको खेल अहिले भइरहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी अहिलेसम्म अपराजित टोली हो । समूह ए बाट एपीएफलाई हराउँदै समूह विजेता बनेको आर्मीमा राष्ट्रिय टोलीका खेलाडीका साथै युवा खेलाडीको बाहुल्यता छ ।

त्यस्तै राष्ट्रिय टोलीका भेट्रान बलर शक्ति गौचनको नेतृत्वमा रहेको प्रदेश नम्बर ५ मा प्रदेशका प्रतिभावान युवा खेलाडीहरुको सहभागिता छ । प्रदेश ५ ले समूहमा एउटा पराजय ब्यहोरेको थियो । पुलिससँग पराजित भएको प्रदेश ५ ले दुई खेल जितेको थियो भने एउटा खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडेको थियो ।

शनिबार दोस्रो सेमिफाइनल दुई बिभागीय टिमहरुबीच हुनेछ । एपीएफ र नेपाल पुलिसको बिभागीय डर्बी पनि बिहान ९ बजेदेखि टियू मैदान कीर्तिपुरमा हुनेछ ।

पहिलो पटक संघीय संरचनाअनुसार खेलाइएको प्रतियोगितामा पुलिस, आर्मी र एपीएफ गरी तीन बिभागीय टोलीका साथै सात प्रदेशका टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेता टोलीले २० लाख पुरस्कार पाउनेछ भने उपविजेताले १० लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest