त्रिभुवन आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, ५ प्रदेश १५४ रनले पराजित

बिभागीय टोली त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । उसले एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे ।

सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढायरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो ।

त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि सुस्त सुरुआत गरेको आर्मीका लागि राहत मिलेको थियो । पुनले शतक प्रहार गर्दा सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे ।

छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए । बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए ।
२९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो ।

आर्मीका बलरहरुको कसिलो बलिङसामू प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्बाधिक हो । कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे । उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापाले १४–१४ रन बनाए ।

बलिङतर्फ आर्मीका सुशील कँडेलले ३ तथा सागर पुन र बिक्रम सोवले २–२ विकेट लिए । सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे । सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest