इंग्ल्याण्ड विरुद्दको पहिलो टी-२० मा भारत ८ विकेटले विजयी

स्पिनर कुलदीप यादवले करिअरकै उत्कृष्ट बलिङ गरेपछि इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीले पहिलो टी-२० क्रिकेटमा ८ विकेटको शानदार जित हासिल गरेको छ ।

म्याच्टेस्टर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड कुलदीपको धारिलो बलिंगसामू निरिह बन्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो ।

इंग्लिस इनिङ कमजोर बनाउने क्रममा कुलदीपले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए । एक साताअघिमात्र आयरल्याण्डबिरुद्ध दुई म्याचमा ७ विकेट लिएका यादवको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो ।

इंग्लिस टोलीका लागि ओपनर जस बटलरले ६९ रन, ज्यासन रोयले ३० र डेभिड विलीले २९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । इंग्ल्याण्डका ३ खेलाडीले खाता खोल्नै सकेनन् ।

यादवका अलावा भारतका उमेश यादवले २ तथा हार्दिक पण्ड्याले १ विकेट लिए ।

१६० रनको विजय लक्ष्य भारतले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि केएल राहुलले ५४ बलमा १०१ रनको शतकीय पारी खेले । करिअरको दोस्रो शतक प्रहार गर्ने क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । भारतका लागि ओपनर रोहित शर्माले ३२ तथा शिखर धवन ४ रनमा आउट भए । कप्तान विराट कोहलीले पनि अविजित २२ रन बनाए

तीन टी)२०, तीन एशदिवशीय र चार टेष्ट म्याचको श्रृंखलाका लागि भारतीय क्रिकेट टोली अहिले इंग्ल्याण्ड भ्रमणमा छ । दुईबीचको दोस्रो म्याच शुक्रबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest