३ बर्षपछि कमब्याक गरेका सुवासलाई पुरानो फर्ममा फर्कने चुनौती

सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । उनलाई समेट्दै नेपालले इंग्ल्यान्डको लर्डसमा मेरीलेबोन क्रिकेट क्लब (एमसीसीसी) र नेदरल्यान्ड्सविरुद्ध हुने त्रिकोणात्मक शृंखला र नेदरल्यान्ड्स भ्रमणका लागि मंगलबार १५ सदस्यीय टोली छनोट गरेको छ ।

नेपालले जुलाई २९ मा लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्नेछ । खराब फर्म र चोटका कारण पछिल्लो दुई वर्षयता सुवास नेपाली टोलीमा थिएनन् । पछिल्लोपल्ट सुवासलाई ठीक दुई वर्षअगाडि नेपालले लर्डसमा खेल्दा टोलीबाट हटाइएको थियो । अहिले लर्डसमा खेल्नु अगाडि टोलीमा राखिएको छ । दुई वर्षअगाडि इंग्ल्यान्ड भ्रमणमा रहे पनि ऐतिहासिक लर्डस मैदानमा एमसीसीसँग खेल्दा उनी प्लेइङ ११ मा थिएनन् ।

‘२–३ वर्षपछि पुनरागमन गर्न पाउँदा निकै खुसी छु । मुख्य भनेको नेपालले लर्डस मैदान र पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्दैछ, त्यसकै हिस्सा हुन पाएको छु,’ सुवासले भने, ‘फेरि मैले शक्ति (गौचन) दाइसहित पारस खड्का, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मीजस्ता खेलाडीसँग खेल्ने अवसर पाएको छु ।’ जेठमा राजधानीमा भएको प्रधानमन्त्री कप क्रिकेटमा २ सय ८ रन बनाएपछि उनलाई राष्ट्रिय टोलीमा फर्कन ढोका खुलेको थियो । उनले प्रदेश २ विरुद्ध शतक बनाएका थिए ।

सुवास नेपालबाट वान–डेमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले २०१२ मा मलेसियामा अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन नेपाली खेलाडीको वान–डे क्रिकेटमा उच्च स्कोर हो । तर उनले २०१५ को नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियसिपमा खेलेयता नेपालबाट आधिकारिक खेल खेलेका छैनन् । यसै साता हुने युरोप भ्रमणमा नेपाली टोलीमा परिवर्तन गरिएका उनी एक्ला खेलाडी हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest