लर्डस र नेदरल्याण्ड्समा दुई प्रतियोगिता खेल्ने नेपाली टिमको विदाई

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिज खेल्न जाने नेपाली क्रिकेट टोली भोल त्यसतर्फ प्रस्थान गर्ने भएको छ । जसका लागि नेपाली टिमका आज विदाई गरिएको छ ।

युरोप भ्रमणमा जाने १५ सदसिय खेलाडीसहितको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, क्रिकेट प्लेयर एसोसिएसन अफ नेपालका अध्यक्ष मनिस राज पाण्डे लगायतले बिदाइ गरे ।

नेपालले क्रिकेटको होम मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई २९ तारिखमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दैछ । जसमा नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच प्रतिस्पर्धा हुनेछ ।

एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । प्रतियोगितामा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने छन ।

नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले पहिलो पटक टी-ट्वान्टी र एकदिवसियन खेल खेल्ने मौका पाएको हो ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछ । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट १ र ३ मा एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।

लन्डन जानुअघि कप्तान पारस खड्काले पहिलो एकदिवसीय क्रिकेट खेल्न उत्साहित रहेको बताए । यस्तै प्रशिक्षक जगत टमटाले आफुहरु राम्रो क्रिकेट खेल्दै जित निकाल्ने लक्ष्यसहित युरोप भ्रमणमा जान लागेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest