नेपालकाे पहिलाे अभ्यास खेलमा आर्मी क्रिकेट टिमसँग खेल्दै

एशिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लवसँग पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लव आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवशीय हुनेछ ।

श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लवसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लवसँग अभ्यास खेल खेल्नेछ ।

श्रीलंका आर्मीको कप्तान श्रीलंकाबाट थुप्रै टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका अलराउन्डर सिकुगे प्रसन्ना रहेका छन् । यस्तै श्रीलंकन अलराउन्डर असेला गुणारत्ने, श्रीलंकाका लेग स्पिनर अजन्था मेन्डिस पनि यस टिममा रहेका छन् ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।

छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest