नेपाल एशिया कप छनाेट चरणबाट बाहिर, हङकङसँग ३ विकेटले पराजित

मलेसियामा भएको एशिया कप छनोटमा नराम्रो प्रदर्शन गरेको नेपाल अन्तिम खेलमा पनि हङकङसँग तीन विकेटले पराजित हुँदै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार पार्न सकेन ।

मलेसियाको ओभल मेदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा ९५ रनमा अलआउट भयो । निकै फितलो ब्याटिङ गरेको नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए । त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए ।

नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो । तर लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्यो । निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए ।

नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन । आठौ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी विच ३४ रनको साझेदारीले नेपाललाई केहि राहत भएको थियो । तर नेपालको स्कोर ९२ रन हुँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले अविजीत १५ रन थपे । आजको खेलमा नेपालको ब्याटिङ यो प्रतियोगिताकै कमजोर रहन पुग्यो ।

९६ रनको झिनो लक्ष्य पक्ष्याएको हङकङले ३२ ओभर ३ बलमा सात विकेट गुमाउँदै पुरा गर्यो ।

हङकङको पनि सुरुवात राम्रो हुन सकेन । १४ हुदा पहिलो विकेट गुमाएको उसले ३० रनमा दुई विकेट खेर फाल्यो । दुई विकेट सन्दिपले लिए । हङकङको स्कोर ४० रन हुदा नेपाले तेस्रो विकेट लियो । सागर पुनले निजाकत खानलाई मात्र दुई रनमा आउट गरे ।

यो प्रतियोगितामा सफल बलर मध्येका एक सन्दिपले हङकङको स्कोर ७१ रन हुदा चौथो सफलता दिलाए । उनले किन्चित शाहलाई ११ रनमा आउट गरे ।

त्यसपछि अन्सुमन राथलाई पनि सन्दिपले नै आउट गर्दा हङकङले ८३ रनमा ५ विकेट गुमायो । उनले ५२ रन बनाए । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए । जारी प्रतियोगितामा सन्दिपले कुल १६ विकेट लिन सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest