पीपीएलमा अाज चितवन र धनगढी तथा विराटनगर र बुटवल भिड्दै

पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत अाज दुई खेलहरु हुँदैछन् ।

पोखरा रंगशालामा अाज बिहान हुने पहिलो खेलमा चितवन राहिनोज र धनगढी ब्लुज तथा दाेस्राे खेलमा विराटनगर टाइटन्स र बुटबल ब्लास्टर्स आमने सामने हुनेछन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राहिनोजले प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । उसले यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ ।

उसले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो । प्रतियोगिताको प्लेअफमा स्थान बनाउन चितवनका लागि धनगढीबिरुद्धको खेल गर या मरको अवस्थामा छ । यद्यपी कप्तान पारस खड्काले बाँकी तीनै खेल जितेर प्लेअफमा स्थान बनाउने दृढता लिएका छन् ।

प्रतियोगितामा एक जित र एक हारको नतिजा निकालेको धनगढीका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई इंग्लिस खेलाडीहरु पिटर ट्रेगो र ड्यान लरेन्सको प्रेरणामा धनगढीले शानदार प्रदर्शन गरिरहेको छ ।

यता दोस्रो खेलमा बुटवलसँग प्रतिस्पर्धा गर्न लागेको विराटनगरका लागि भने यो खेल निक्कै महत्वपूर्ण छ । सामान्य जितले मात्रै पनि विराटनगरको प्लेअफ यात्रा सुरक्षित हुने छैन । किनभने उसले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । ६ टोली सहभागी प्रतियोगितामा विराटनगरको दुई लिग खेल मात्र बाँकी छ ।

त्यसको विपरित बुटवल ब्लास्टर्सले भने शानदार प्रदर्शन गरिरहेको छ । यसअघिका दुवै खेलमा जित हासिल गरेको बुटवल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बलिङमा कप्तान सोमपाल कामी र ब्याटिङमा युएईका कप्तान रोहन मुस्तफाले बुटवलको नेतृत्व लिइरहेका छन् । दुवैले अहिलेसम्म उच्चस्तरको प्रदर्शन गरिरहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest