सन्दिप शुट द्याट फिट्सको ब्राण्ड एम्बासडर

क्रिकेटको पछिल्लो फम्र्याट टी–१० लिग खेल्न नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आइतबार दुवई प्रस्थान गर्दैछन् ।

टी–१० लिगमा सन्दिपले केरला किङसबाट खेल्दैछन् । केहि समयअघि भएको अक्सनमा केरलाले उनलाई ३० हजार डलर (३४ लाख ५० हजार रुपैयाँ)मा अनुबन्धित गरेको थियो ।

पहिलो पटक टी–१० क्रिकेट खेल्न लागेका सन्दिप उत्साहित छन् । विश्व क्रिकेटका हस्तीसँग क्रिकेट खेलेको अनुभव त उनीसँग छ तर, एक वर्षअघि देखि सुरु भएको क्रिकेटको सबैभन्दा छोटो संस्करण उनले अहिलेसम्म खेलेका छैनन् ।

‘क्रिकेटको नयाँ र छोटो फम्र्याटमा पहिलो पटक खेल्दैछु, एउटा उत्साह छ र सँगसँगै चुनौति पनि ।’ सन्दिपले भने, ‘२ ओभर बलिङ गर्न पाइन्छ, हरेक ओभर डेथ ओभर हुनेछ ।’

सन्दिपले विश्वस्तरीय खेलाडीसँग खेल्दा हरेक पटक शून्यबाट सुरु गर्ने बताए । टी–१० लिगमा पनि उनको टोली केरलाबाट इयोन मोर्गन मार्की खेलाडी तथा कप्तानको रुपमा छन् भने क्रिश गेल, केरोन पोलार्ड, उपुल थारंगा, वायन पार्नेल लगायतका खेलाडी छन् । केरला गत संस्करणको च्याम्पियन पनि हो ।

सन्दिपले गएको अक्टोबरमा युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए । नान्ग्राहर लियोपार्डका लागि लिगमा मात्र एक खेल खेल्न पाए । इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले हालै सन्दिपलाई ‘रिटेन’ गरेको छ ।

सन्दिप लामिछाने नेपाली खेलकुदकै सबैभन्दा ठूलो ‘ब्राण्ड’ हुन् । गत वर्षको आईपीएलमा दिल्लीबाट डेब्यू गरेयता विश्वभरका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेपछि चर्चासँगै उनको मूल्य पनि बढेको छ ।

टी–१० लिग खेल्न जानुअघि सन्दिप शुट द्याट फिट्सको ब्राण्ड एम्बासडर बनेका छन् । शुट द्याट फिट्सका सीईओ ओमभक्त योगीले नेपाललाई विश्व क्रिकेटमा स्थापित गर्न सक्षम भएकोमा प्रोत्साहनस्वरुप ब्राण्ड एम्बासडर बनाइएको जानकारी दिए ।

सम्झौता पाँच वर्षको हुनेछ । तर, सम्झौताको सर्तहरु भने गोप्य राखिएको छ । सम्झौतापछि सन्दिपले यस्तो सम्मान र प्रोत्साहनले अझै राम्रो गर्न हौसला मिलेको भन्दै भविश्यमा अन्य नेपाली क्रिकेटरसँग पनि यस्तो सम्झौता हुने आशा व्यक्त गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest