पाेखराकाे इपीएल यात्रा समाप्त, काठमाडाैं ५ विकेटले विजयी

पोखरा राइनोज एभरेष्ट प्रिमियर लिगमा प्लेअफको यात्रा समाप्त भएको छ । प्रतियोगिताको लिगमा लगातार चार खेलमा पराजित भएको पोखरा चौथो खेलमा काठमाडौंसँग ५ विकेटले पराजित भयो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६५ रन बनायो । बलियो सुरुवात गर्दै पोखराले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । तर ओपनर रिचार्ड लेभी ३८ रनमा आउट हुँदा उसले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका सुनील धमला मात्र नौ रनमा पेभेलियन फर्किएपछि पोखराले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो । पोखराको स्कोर एक सय नौ रन हुँदा तेस्रो विकेट झर्यो । उसका कप्तान काहिल काइट्जेर ३७ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका विनोद भण्डारीपनि १७ रनमा पेभेलियन फर्किएपछि पोखराले एक सय ३९ रनमा चौथो विकेट गुमायो । तर उसका मिडिलअडरका खेलाडी राजेश पुलामी र पउल कोलिग्न लगातार रुपमा आउट भएपछि उसले एक सय ५९ रनमा ६ विकेट खेर फाल्यो । कोलिग्न ३७ रनमा आउट भए भने राजेश नौ रनमा पेभेलियन फर्किए । बलिङमा विक्रम भुषालले दुई विकेट लिए ।

जवाफमा काठमाडौले १९ ओभर २ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्दै उसले सन्तोषजनक सुरुवात गर्यो । उसका ओपनर अमित श्रेष्ठ ११ रनमा आउट भएपछि काठमाडौंले पहिलो विकेट गुमायो ।

त्यसपछि रोहन मुस्तफा ब्यक्तिगत ४० रनमा पेभेलियन फर्किएपछि काठमाडौले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसका लगत्तै सागर पुन आउट हुने पुगे । उनले १८ रनमात्र बनाए । त्यसपछि क्रिजमा आएका नरेश बुढाऐर पनि मात्र एक रनमा रनआउट हुँदा काठमाडौंको स्कोर एक सय रन थियो ।

त्यसपछि आनन्द सुब्रमनियम २७ रनमा आउट भएपछि काठमाडौंले एक सय ५८ रनमा पाँचौ विकेट खेर फाल्यो । काठमाडौंको जितमा केभिन ओब्राइनले अविजीत ५४ रन बनाए । बलिङमा बिक्रम सोबले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest