नेपाल टी–२० म्स्याक क्रिकेटकाे फाइनलमा

नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याक क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सन् २००७ देखि अन्तराष्ट्रिय सहभागिता जनाएको नेपाल पहिलो पटक सिनीयर महिला क्रिकेटको फाइनलमा पुगेको हो । आज भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सिता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्याए ।

ब्यक्तिगत तर्फ सिताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।

जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभर एक बलमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलीयाले सर्वाधिक १३ रन बनाइन ।

त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । अरु खेलाडीपनि दोहोरो अंक जोड्न सकेनन । नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन भने दुई खेलाडीलाई रन आउट गरिन । यस्तै कविता कुवँर, सरिता मगर, सिता रानामगर र नेरी थापाले एक एक विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest