नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो । बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्यो । उसकी ओपनर नाइमुइ चेइवइ ३२ रनमा आउट भएपछि नेपाललाई पहिलो सफलता मिल्यो । त्यसको लगत्तै अर्की खेलाडी चान्तम पनि मात्र ५ रनमा पेभेलियन फर्किएपनि नेपालले दोस्रो विकेट लिन सफल भयो ।

त्यसपछि थाइल्याण्डको स्कोर ६३ रन हुँदा नेपाललाई तेस्रो सफलता मिल्यो । १६ रन बनाएर खेलिरहेकी बोचाथम १२ रनमा नेरीले आउट गरिन । नेपालका लागि कविता कुवँरले एकै ओभरमा दुई विकेट लिएपछि थाइल्याण्डले ९८ रनमा पाँच विकेट गुमायो । उसका लागि चनीदा सुथिरुंगाले ३५ रन बनाइन । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन । अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन । उनी बाहेक बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर दुई दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन ।

जवाफमा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदा ६७ रनमा रोकियो । थाइल्याण्ड विरुद्ध मानसिक रुपमा नै दबावमा रहेको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेनन् । दुई रन हुँदा दुई विकेट गुमाएको नेपालले आठ रन जोड्दा तेस्रो विकेट गुमायो । ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक एक रनमा आउट भइन भने कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन ।

त्यसपछि चौथो विकेटका लागि इन्दु बर्मा र सिता रानामगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो । त्यसको लगत्तै नेरी थापा पनि मात्र दुई रनमा आउट हुँदा नेपालको पारी संकटमा पर्यो । त्यसपछि नेपालका कुनैपनि खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् । यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest