हङकङद्वारा नेपालसामु ६३ रनकाे लक्ष्य, नेरी थापाकाे किर्तीमान

थाइल्याण्डमा जारी आईसीसी टी–२० एशिया रिजन छनोट खेलमा हङकङले नेपाललाई ६३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो ।

नेपालका लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिन सफल भइन् । व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन् । योसँगै नेपालबाट टी–२० क्रिकेटमा ५ भन्दा बढी विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन् । यसअघिको प्रतियोगितामा ४ विकेट लिएकी थिइन् । आजको खेलमा नेरीले नेपालले लिएका शुरुआतका ६ वटै विकेट लिएकी हुन् । बाँकी २ विकेट सिता रानामगरले लिइन्

नेरीले पहिलो विकेट हङकङले २३ रन बनाएका बेला बेला पोनलाई आउट गरिन् । बेलालाई ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन ।

यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा नेरीले यी सान टुलाई खातानै खोल्न नदिई पेभेलियन पठाउन सफल भइन् । तेस्रो विकेटको रुपमा नेरीले हङकङका लागि १६ रन बनाइएकी यस्मिन दसवानीलाई आउट गरिन् ।  राम्रो सुरुआत गरेको हङकङ ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गर्न सफल भइन् । पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरिन् ।

योसँगै नेरी नेपालबाट टी–२० क्रिकेटमा पाँच विकेट लिने पहिलो क्रिकेट खेलाडी बन्न पनि सफल भइन् । यतिमा नेरीको विकेट लिने यात्रा  रोकिएन । उनले छैटौं बिकेट पनि लिन सफल भइन् । जस्मिन टिटमसलाई छैटौं विकेटको रुपमा सिकार गरेकी थिइन् । नेरीले स्पेल सक्दा ३६ रन बनाएको हङकङले पछि २६ रन थपेको थियो । सातौं विकेटको रुपमा सिता राना मगरले १९ रन बनाएकी मरिनालाई आउट गरेकी थिइन् । आठौ विकेट अन्तिम ओभरको अन्तिम बलमा जेनिफर डेभिइसलाई हङकङले गुमाएको थियो । उक्त विकेट पनि सिताले लिन सफल भइन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest