अभ्यास खेलमा नेपाली युवा टिम विजयी

काठमाडौं, ६ चैत । आईसीसी यू–१९ विश्वकप छनोटका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली युवा टिम पहिलो खेलमा विजयी भएको छ । आन्ध्रप्रदेश स्टेट टिमलाई नेपाली युवा टिमले ६२ रनले पराजित गरेको हो ।

२७७ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४५.१ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएको थियो । नेपालका कुशल मल्लले ४ तथा कमलसिंह ऐरीले ३ विकेट लिँदा पवन शर्राफले २ विकेट तथा सागर ढकालले एक विकेट हात पारे ।

दश ओभरको स्पेलमा कुशलले २ ओभर मेडन राख्दै ४१ रन खर्चिएका थिए । यसैगरी कमलसिंह ऐरीले ७.१ ओभरमा १ ओभर मेडन राख्दै ३९ रन दिएका थिए ।

भारतका लागि हर्सवद्र्धन र हेमन्त रेड्डीले सुरुआती साझेदारी ८५ रनको गर्दै बलियो सुरुआत दिलाएका थिए । हर्सबद्र्धन ४८ तथा रेड्डी ३८ रन बनाएर आउट भए । यसैगरी पी तेजस्वी ४३ रन बनाए । पहिला ब्याटिङ गरेको नेपाल ४८ ओभरमा सवै विकेट गुमाएर २७६ रन बनाएको थियो ।

नेपालको खराब इनिङलाई कप्तान रोहित पौडेल र सन्दीप जोराले बलियो साझेदारी गर्दै उकासेका थिए । त्यसपछि कमलसिंह ऐरीले पनि उत्कृष्ट पारि खेले । नेपालका कप्तान रोहितले ७९ रन बनाउँदा सन्दीप ६९ रन बनाएर पेभेलियन फर्किएका थिए । कमलसिंह ऐरीले २५ बलमा ४४ रन बनाए ।

४८ औं ओभरमा अन्ति बिकेटका रुपमा आउट भएका ऐरीले लगातार ५ छक्का प्रहार गरेका थिए । छैटौं बलमा उनी आउट भएसँगै नेपालको पारि २७६ रनमा रोकिएको थियो ।
नेपाली युवा टिम भारतको आन्ध्रप्रदेशको स्टेट टिमसँग ४ वटा अभ्यास खेल खेल्नका लागि त्यहाँ गएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest