आईपीएलमा पञ्जावको चौथो जित, तेस्रो स्थानमा उक्लियो

सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै किंग्स इलाभेन पञ्जाव इण्डियन प्रिमियर लिग आईपीएलको तेस्रो स्थानमा उक्लिएको छ । हारपछि हैदराबाद भने चौथो स्थानमा झरेको छ । लिगमा पञ्जावले ६ खेलमा ४ जित र २ हारसहित ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको हो । समान खेलबाट हैदराबादले ३ जितका साथ ६ अंकमात्र जोडेको छ । लिगको शीर्ष दुई स्थानमा ५ खेलबाट समान ८ अंकका साथ कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्स छन् ।

घरेलु मैदान आईएस बिन्द्रा रंगशाला मोहालीमा हैदराबादले दिएको १ सय ५१ रनको लक्ष्य पञ्जावले इनिङको एक बल बाँकी छँदा १ विकेट गुमाएर भेट्टायो । ओपनर क्रिश गेललाई १६ रनको व्यक्तिगत स्कोरमा सुरुमै गुमाएको पञ्जावका केएल राहुल र मयंक अग्रवालले दोस्रो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरेपछि जितको आधार बनेको थियो ।

टिमको स्कोर १३३ हुँदा मयंक ५५ रन बनाएर आउट भए । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । राहुलले ५३ बलमा ७ चौका र १ छक्कासहित अविजित ७१ रन बनाए । उनैले अन्तिम ओभरको पाँचौं बलमा २ रन लिँदै खेल जिताएका थिए । अघिल्लो बलमा उनले चौका प्रहार गरेका थिए । पञ्जावलाई जितका लागि अन्तिम ओभरमा ११ रन बनाएको थियो । बलिङतर्फ हैदराबादका सन्दीप शर्माले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ओपनर डेभिड वार्नरको अविजित ७० रनको सहयोगमा निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । जोनी बेरिस्टो १ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका विजय शंकरसँग मिलेर वार्नरले ४९ रनको साझेदारी गरे ।

शंकर २६ रनको स्कोरमा आउट भएपछि आएका मोहम्मद नाभीसँग मिलेर तेस्रो विकेटका लागि २४ तथा मनिस पाण्डेसँग मिलेर चौथो विकेटका लागि ५५ रनको अर्धशतकीय साझेदारी गरेका थिए । नाभीले १२ तथा पाण्डेले १९ रन बनाए । दीपक हुड्डा १४ रनमा अविजित रहे । बलिङतर्फ पञ्जावका कप्तान रविचन्द्रन आश्विन, मुजिव उर रहमान र मोहम्मद सामीले एक एक विकेट बाँडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest