दिल्ली क्यापिटल्सको आइपीएल यात्रा समाप्त, मुम्बइ र चेन्नेइ उपाधिका लागि खेल्ने

इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सको यात्रा सकिएको छ । यो सँगै सन्दिपको यो सिजनको यात्रा पनि समाप्त भएको छ । गएराति भएको दोस्रो क्वालिफायर्समा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेइ सुपर किंग्ससँग पराजित भएपछि दिल्लीको यात्रा सकिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४७ रनको स्कोर खडा गरेको थियो । राम्रो सुरुआत गर्न नसकेको दिल्लीका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका ऋषभ पन्तले सर्बाधिक ३८ रन जोडेका थिए ।

पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । दिल्लीका लागि कोलिन मुनरोले २७, शिखर धवनले १८, कप्तान श्रीयास आयरले १३, शेरफान रथरफोर्डले १० रन जोडेका थिए ।

अन्तिम ओभरमाको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गरेका इशान्त शर्माले पनि १० रनको योगदान गरेका थिए । दिल्लीका ५ खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । बलिङतर्फ चेन्नाईका दीपक चहर, हरबजन सिंह, रविन्द्र जडेजा र ड्वायन ब्राभोले २–२ विकेट लिए ।

१४८ रनको लक्ष्य चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनर डुप्लेसिस र वाट्सन दुवैले समान ५० रनको पारी खेले । डुप्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा वाट्सनले ३२ बदमा ३ चौका र ४ छक्का प्रहार गरे ।

चन्नाईका लागि सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन जोडे । अम्बाती रायडु २० रनमा अविजित रहे ।

प्रतियोगिताका सर्बाधिक विकेट लिने बलर कागिसो रावाडा विश्वकपको तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीको बलिङ एकाएक कमजोर बनेको छ ।

उपाधिका लागि चेन्नाईले आइतबार मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग नै हारेपछि चेन्नाईले दोस्रो क्वालिफायर दिल्लीसँग खेल्नुपरेको हो । यी दुई टोलीले अहिलेसम्म तीन तीन पटक आईपीएल जितेका छन् । मुम्बईले २०१३, ०१५ र १७ मा उपाधि जितेको थियो भने चेन्नाईले सन् २०१०, ०११ र ०१८ मा उपाधि जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest