प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ  ।

राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जनाएको छ  ।

टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको थियो ।

प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ र मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच खेल हुनेछ ।

प्रतियोगितालाई एक्स्पर्ट भिसा एजुकेशन एण्ड भिसा सर्भिसेजले  मुख्य प्रयोजन गरेको छ । प्रायोजन सम्झौतामा शनिबार नै हस्ताक्षर भएको छ । प्रायोजन रकमबारे खुलाईएको छैन ।

यस्तै पत्रकार सम्मेलनमा प्रतियोगिताको जर्सी समेत सार्वजनिक गरिएको छ । सहभागी टोलीका कप्तानहरुले जर्सी सार्वजनिक गरे  ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest