भारत र पाकिस्तानकाे खेलपनि बर्षाकाे मारमा पर्ने संभावना

आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता इंग्ल्याण्डमा जारी छ । जति सोचिएको थियो त्यसभन्दा निकै कम मात्र यस पटकको विश्वकप भिडन्त रोमाञ्चक बनेको छ । किनभने हरेक दिन जसो इंग्ल्याण्डको मौसमले धोका दिँदै आएको छ र फ्यानहरुले यो वर्ल्डकप होइन ‘रेन कप’ नामकरण गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेटमा १० देशको सहभागिता रहेको छ । सबैले सबैसँग खेल्नु पर्ने र शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने प्रावधान राखिएकाले यस पटकको विश्वकप अन्यभन्दा बढी रोमाञ्चक हुने अनुमान गरिएको थियो । तर अहिले पानीले गर्दा तीन वटा खेल टस पनि हुन पाएनन् भने एउटा खेल ८ ओभर पनि चलेन ।

जारी विश्वकपको हाई भोल्टेज गेम भनेको भारत र पाकिस्तानबीच को हो । यसमा दुई देश क्रिकेट मात्रै खेलिरहेका हुँदैनन् जनता पनि पक्ष र विपक्षमा सबैले चासो दिने गर्छन् । भारत र पाकिस्तानबीचको राजनीतिक तनावलाई पनि क्रिकेटसँग जोडिने भएकाले यो अरु भन्दा बेग्लै छ ।

भारतले विहीबार न्यूजिल्याण्डसँग खेल्नु पर्ने थियो तर वर्षा वाधक बन्दा दुवै टिमले एक एक अंक लिए । अब भारत र पाकिस्तान १६ जुन अर्थात आउँदो आइतबार भिड्दै छन् । म्यानचेस्टरको वल्ड ट्राफोडमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे देखि शुरु हुने खेललाई पनि बर्षाले विथोल्ने सम्भावना रहेको छ ।

इंग्ल्याण्डको मौसम पुर्वानुमान महाशाखाका अनुसार आइतबार म्यानचेस्टरमा बादल लाग्ने छ भने पानीले पटक पटक प्रभाव पार्ने छ ।
आइतबार स्थानीय समय अनुसार विहान ९ बजे पहिलो चरणमै पानी पर्ने छ । केही बेरको वर्षा पछि रोकिएको पानी ११ बजे पुनः पर्ने जनाइएको छ । त्यसैगरी दिउँसो २ बजे देखि पानी पर्ने पूर्वानुमान गरिएको छ ।

भारत पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक भिडेकोमा सबै खेल भारतले जितेको छ । ‘पुलवा’ हमला पछि भारतले पाकिस्तानविरुद्धको विश्वकप क्रिकेट बहिष्कार गर्नुपर्ने चर्को आवाज भारतमा उठेको थियो । तर आईसीसीले क्रिकेटलाई राजनीतिक विवादसँग नजोड्न आग्रह गरेपछि मामला सामान्य भएको थियो र अहिले पाकिस्तानविरुद्ध खेल्न भारत लागेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest