अष्ट्रेलिया विश्वकपको सेमी-फाइनलमा पुग्ने लगभग पक्का

बंगलादेशलाई ४८ रनले पराजित गरी साविक विजेता अष्ट्रेलिया एकदिवशीय विश्वकपको शीर्ष स्थानमा फर्किएको छ । विश्वकपको ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा पुगेको अष्ट्रेलियाको सेमिफाइनल प्रवेश पनि लगभग सुरक्षित बनेको छ ।

नटिङघमको ट्रेन्ट ब्रिजमा ३८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले पारीको अन्तिम बलमा सबै विकेट गुमाएर ३३३ रनमात्र जोड्न सक्यो ।

करिअरको सातौं र विश्वकपमा पहिलो शतक प्रहार गरेका बंगलादेशी विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमको प्रदर्शन छायामा परेको हो ।

चौथो नम्बरमा ब्याटिङ गरेका रहिमले ९७ बलमा ९ चौका र १ छक्कासहित १०२ रनको अविजित पारी खेले । यसअघि ओपनर तामिम इक्वालले ६२, शानदार लयमा रहेका शकिव अल हसनले ४१ तथा मुमुदुल्लाहले ६९ रनको अर्धशतकीय पारी खेले पनि बिशाल लक्ष्य भेट्टाउन असफल रहे ।

यसअघि दक्षिण अफ्रिका र वेष्ट इण्डिजबिरुद्ध सानदार प्रदर्शन गरेको बंगलादेशका बलरहरुले आजको खेलमा लय भेट्टाउन सकेनन् ।

बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिस, मिचेल स्टार्क र नाथान कल्टर नाइलले दुई दुई विकेट लिए । याे २ विकेटसँगै अष्ट्रेलियाका मिचेल स्टार्कले प्रतियोगितामा सर्बाधिक १५ विकेट लिएका  छन्  ।

यसअघि ओपनर डेविड वार्नरले कीर्तिमानी प्रदर्शन गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रनको बिशाल योगफल बनाएको थियो । यो एकदिवशीय विश्वकपमा अहिलेसम्मकै तेस्रो सर्बाधिक योगफल हो ।

वार्नरले जारी विश्वकपमा सर्बाधिक व्यक्तिगत रन प्रहार गर्ने क्रममा १ सय ६६ रनको पारी खेले । उनले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान आरोन फिन्चसँग मिलेर १ सय २१ रनको साझेदारी गरे ।

फिन्च ५३ रन बनाएर आउट भएपछि आएका अस्मान ख्वाजासँग मिलेर दोस्रो विकेटका लागि सानदार १ सय ९२ रनको साझेदारी गरे । ख्वाजा शतक बनाउनबाट ११ रनले चुके । उनले ७२ बलमा १० चौका प्रहार गरेका थिए । ग्लेन म्याक्सवेलले १० बलमा ३१ रन प्रहार गरे । बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest